हेटौँडा–बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले हरितालिका तीज २०८२ को अवसरमा मंगलबार नेपाली महिलाहरुलाई शुभकामना व्यक्त गरेका छन् ।
तीज नेपाली महिलाहरूको महान् पर्व भएको उल्लेख गर्दै मुख्यमन्त्री बानियाँले यस पर्वले महिलाहरूमा सामाजिक, पारिवारिक, धार्मिक तथा सांस्कृतिक एकता र सद्भाव बढाउन सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् । उनले तीज पर्वले समाजमा विद्यमान लैङ्गिक, जातीय, वर्गीय विभेद र सबै किसिमका असमानता अन्त्य गरी सामाजिक समावेशीकरण, समानता र न्यायपूर्ण समाज निर्माणमा टेवा पुर्याउने अवसर प्रदान गर्ने बताए ।
मुख्यमन्त्री बानियाँले तीजलाई सांस्कृतिक मूल्य तथा मान्यतासहितको पर्वका रुपमा लिँदै यसले नेपाली महिलाको सामाजिक, पारिवारिक र वैवाहिक सम्बन्ध सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गरेका छन् । शुभकामना सन्देशमार्फत उनले देश–विदेशमा रहेका सम्पूर्ण नेपाली महिलाहरुलाई स्वास्थ्य, समृद्धि, सुख–शान्ति र प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन् ।

