शिक्षक महासंघ राष्ट्रिय समितिको आह्वानमा देशका सबै पालिकाहरुमा शिक्षक महासंघले ध्यानाकर्षण पत्र बुझाएको छ । शिक्षक महासंघको घोषित कार्यक्रम तालिका अनुसार राष्ट्रिय समितिमा आज नेकपा माओवादी केन्द्रको कार्यालयमा ज्ञापनपत्र बुझाउने कार्यक्रम तालिका अनुरुप ज्ञापनपत्र बुझाइएको नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समिति उपमहासचिव श्रीराम दाहालले बताए । यता मकवानपुर जिल्ला आन्दोलन परिचालन समिति संयोजक मुकुन्द न्यौपानेले पनि जिल्लाका १० वटै पालिकामा ध्यानाकर्षण पत्र बुझाइएको बताए ।
शिक्षक र शिक्षा सम्वन्धी विधेयक ५३ वर्षपछि आउने क्रममा शिक्षकहरु गत वर्षको चैत्र २० गतेदेखि यस वर्षको बैशाख १७ सम्म आन्दोलनमा थिए । २९ दिन लामो आन्दोलनपछि नेपाल सरकारले शिक्षक र शिक्षाका मुद्दा संवोधन गर्ने भन्दै ९ बुँदे संझौता गरेको थियो । संझौतालाई वेवास्ता गर्दै सरकारले प्रतिगामी ऐन जारी गर्न लागेको भन्दै शिक्षक महासंघले पुन: देशव्यापी आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ ।
मकवानपुर जिल्लामा आन्दोलन परिचालन समितिका मुकुन्द न्यौपाने, खेम लामिछाने, गणेशप्रसाद हुमगाई, श्रीराम लुइटेल, कृष्ण प्रसाद पोखरेल, बिष्णुहरि गौतम लगायतले शिक्षकका माग पूरा नभएसम्म आन्दोलन जारी रहने धारणा व्यक्त गरे । अधिवक्ता समेत रहेका भोगेन्द्र लुइटेलले भने यो ऐन प्रतिगामी हुन सक्दैन, जस्ले पश्चगामी ऐन ल्याओस् । हेटौँडा उपमहानगरपालिकाकी मेयर मीना लामालाई ज्ञापनपत्र बुझाएपछि एक शिक्षकले शिक्षकमैत्री बन्नुपर्छ है मेयर साब् भन्दा मेयर लामाले भनिन् त्यस्तो नबोल्नोस् म शिक्षकमैत्री नै छु ।
शिक्षकमैत्री ऐन बन्दै गरेको भनेर शिक्षा समितिका सभापति अम्मर बहादुर थापादेखि स्थानीय तहसम्म सबैले भन्दै आएपनि शिक्षक र सरोकारवालाहरु किन आन्दोलनमा छन् ? विचारणीय छ । आन्दोलन परिचालन समितिले आईतबार १५ गते देशभरका ७७ वटै शिक्षा विकास तथा समन्वय इकाइमा ज्ञापनपत्र सहित धर्ना कार्यक्रम रहेको जनाएको छ ।