Search
Close this search box.

आज बडादशैंको टीका, उत्तम साइत ११:५३ बजे

हेटौंडा । नेपालीहरुको महान् चाड बडादशैंको मुख्य दिन आज देशभर टीका र जमरा लगाएर श्रद्धा एवं उल्लासका साथ मनाइँदै छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार टीका लगाउने उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा रहेको छ ।

समितिले टीका ग्रहण गर्ने व्यक्ति पूर्वतर्फ र टीका लगाइदिने व्यक्ति पश्चिमतर्फ फर्कनुपर्ने जनाएको छ । घटस्थापनाको दिन स्थापना गरिएको घडाबाट वैदिक विधिअनुसार अभिषेक गरी टीका लगाइने परम्परा रहिआएको छ ।

गुरु पुरोहित, हजुरबुबा–हजुरआमा, आमा–बाबा तथा मान्यजनका हातबाट नवदुर्गा भवानीको टीका, जमरा र प्रसाद ग्रहण गरी यश, ऐश्वर्य, कार्यक्षमता तथा दीर्घायु प्राप्त होस् भन्ने कामना सहित आशीर्वाद लिने प्रचलन छ ।

टीका आज नभ्याउनेले कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट ग्रहण गर्न सक्नेछन् । घटस्थापनाका दिन वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीक मानी टीका सँगै लगाउने परम्परा छ ।

यसअघि बिहान ९ बजेर २३ मिनेटमा देवी विसर्जन गर्ने साइत रहेको समितिका सदस्य डा. बासुदेव कोइराला (वासुदेवकृष्ण शास्त्री)ले जानकारी दिए । उनका अनुसार सामान्य श्रद्धालुले टीका ग्रहण गर्न साइत खोज्नुपर्ने आवश्यकता छैन, तर राज्य सञ्चालकहरूले भने उत्तम साइतमै ग्रहण गर्नुपर्ने मान्यता अनुसार समय निर्धारण गरिएको हो ।

समितिका अर्का सदस्य देवमणि भट्टराईका अनुसार दशैंको टीका लगाउनुभन्दा पहिले दुर्गा विसर्जन गर्नु अनिवार्य छ । तर, टाढा जानुपर्ने बाध्यता भए बिहान सूर्योदयसँगै विसर्जन गरी टीका लगाउन सकिने व्यवस्था छ ।

कोजाग्रत पूर्णिमाका दिन महालक्ष्मीको व्रत गरी पूजा सम्पन्न भएपछि दशैं पर्व समापन हुन्छ । नेपालभित्र मात्र नभई विदेशमा रहेका नेपालीहरूले पनि परिवार र समुदायमा भेला भई यस पर्वलाई उल्लासपूर्वक मनाउने गर्छन् ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan