Search
Close this search box.

भाेलिबाट चैनपुर जेसीज मनहरी कप फुटबल प्रतियाेगिता हुँदै

मनहरी- चैनपुर जेसीज मनहरीले आयोजना गर्न लागेको तेस्रो संस्करणको ‘जेसीज कप खुला फुटबल प्रतियोगिता’को तयारी पूरा भएको छ । भोलि बिहीबारबाट हुन लागेको प्रतियोगिताको खेल तालिका समेत सार्वजनिक भएको छ ।

उद्घाटन खेल कमाने फुटबल एकेडेमी र बागमती प्रदेश प्रहरीको बीचमा हुने भएको छ । मनहरी गाउँपालिका ४ मसिनेस्थित गोलघरको खेलमैदानमा खेल हुनेछ । यस संस्करणमा मकवानपुर र चितवनका गरी १३ क्लवले सहभागिता जनाएका छन् ।

कमाने र प्रहरी संगै हाँडीखोला यूथ क्लव, मनहरी ४, मनहरी ५, शान्ति सृजना युवा क्लव, पटिहानी इभेन्ट्स, मकवानपुरगढी जेसीज, लामिटार यूथ क्लव, गुरुशिष्य पाठशाला, माया एफसी, एफसी ढेंडो, मोडर्न युथ क्लवको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले एकलाख एक हजार एकसय ११ र उपविजेताले ५१ हजार १५१ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

सर्वोत्कृष्ट खेलाडीले १० हजार तथा अन्य विधागत उत्कृष्टले जनही नगद ५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्ने प्रतियोगिता संयोजक समेत रहेका जेसीजका कार्यकारिणी उपाध्यक्ष मनोज बिष्टले जानकारी दिए । प्रतियोगितालाई मनहरी गाउँपालिकाको ४ नम्बर वडाले मुख्य प्रायोजन गरेको छ भने मनहरी ५ नम्बर वडा, मनहरी गाउँपालिकाको कार्यालय, सानाकिसान कृषि सहकारी लामिटार लगायतका संघसंस्थाले सहयोग गरेको छ ।

युवाहरुको वीचमा भ्रातृत्वको सम्बन्ध स्थापनासंगै फुटबल खेलको विकासका निम्ति जेसीज कप खुला फुटबललाई निरन्तरता दिँदै आएको जेसीजका अध्यक्ष कृष्णप्रसाद ढकालले बताए । ‘हामीले स्थापनाकालदेखी नै यो प्रतियोगितालाई निरन्तरता दिँदै आएका छौँ’, अध्यक्ष ढकालले भने, ‘यस फुटबल प्रतियोगिता आयोजनाका निम्ति सहयोग गर्ने सबै संस्थालाई धन्यवाद एवम् आभार समेत व्यक्त गर्न चाहन्छौं ।’ आगामी वर्षहरुमा पनि यस प्रतियोगितालाई निरन्तरता दिँदै जाने योजना रहेको अध्यक्ष ढकालले बताए ।

प्रतियोगिताका लागि करिब साढे ६ लाख रुपैयाँ खर्च हुने अनुमान रहेको बताइएको छ । पहिलो संस्करणको उपाधी बागमती प्रदेश प्रहरी गणले जितेको थियो भने दोस्रो संस्करणको उपाधी मकवानपुरगढी जेसीजले जितेको थियो ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan