हेटौँडा । गजल विधाको प्रवर्द्धन तथा नयाँ पुस्तामा साहित्यिक रुचि अभिवृद्धि गर्ने उद्देश्यसहित गजल मञ्च मकवानपुरको २४१औँ गजल यात्रा तथा विद्यार्थी गजल प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
गजल मञ्च मकवानपुरको आयोजना तथा तुलसीमेहर मेमोरियल माध्यमिक विद्यालय, हेटौँडा–१० को संयोजनमा शनिबार नवसर्जक केन्द्रित शृङ्खलाअन्तर्गत कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा विद्यालयका ५० भन्दा बढी विद्यार्थीको सहभागिता रहेको थियो। विद्यार्थीहरूलाई गजलको सैद्धान्तिक तथा व्यावहारिक पक्षबारे प्रशिक्षण दिइएको थियो। प्रशिक्षणका क्रममा गजल लेखनका आधारभूत पक्ष, शिल्प, संरचना, भाव तथा सिर्जनात्मक अभिव्यक्तिबारे सहजीकरण गरिएको थियो।
गजल मञ्च मकवानपुरका अध्यक्ष सञ्जीत श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मञ्चका निवर्तमान अध्यक्ष तथा सल्लाहकार केशव सुवेदी समर्पणले प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा गजल मञ्चका सल्लाहकार पुरुषोत्तम आचार्य, साहित्य सङ्गम मकवानपुरका सल्लाहकार सानु खनाल, जनसांस्कृतिक महासङ्घ मकवानपुरका राजाराम राउत तथा तुलसीमेहर मेमोरियल माध्यमिक विद्यालयका प्राचार्य टीका प्रसाद सापकोटाको आतिथ्यता थियो।
मञ्चका उपाध्यक्ष हरि पौड्यालले गजल गायनसहित स्वागत मन्तव्य राखेका कार्यक्रममा पुरुषोत्तम आचार्य, सानु खनाल, राम कार्की र बद्री कार्कीलगायत स्रष्टाहरूले गजल वाचन तथा गायन प्रस्तुत गरेका थिए। उनीहरूले साहित्यिक सिर्जनाको महत्त्वबारे मन्तव्यसमेत राखेका थिए।

