Search
Close this search box.

प्रदेश प्रथम विद्यालय जनप्रियका प्रधानाध्यापक चौलागाई  र वडाध्यक्ष कोईरालाले दिए फेसबुकबाटै धन्यवाद

प्रधानाध्यापक संघ नेपालको तेस्रो राष्ट्रिय सम्मेलनले बागमति प्रदेशबाट उत्कृष्ट विद्यालयका रुपमा मकवानपुरको हेटौँडा १६ स्थित जनप्रिय मावि लाई सम्मानित गरेपछि प्रधानाध्यापक भूपेन्द्र चौलागाईले फेसबुकबाटै धन्यवाद व्यक्त गरेका छन् । प्रधानाध्यापक संघ नेपालले सातवटै प्रदेशबाट उत्कृष्ट विद्यालय र प्रधानाध्यापक दुईवटा विधामा उत्कृष्टता छनौट गरी सम्मानित गरेको हो ।

चौलागाईले आफ्नो फेसबुकमा लेखेका छन् – “देशका सातै प्रदेशबाट एक–एक उत्कृष्ट विद्यालयलाई सम्मानित गर्ने क्रममा बागमती प्रदेशको प्रतिनिधित्व गर्दै जनप्रिय माविले यो गरिमामय सम्मान प्राप्त गर्न सफल भएकोमा हार्दिक बधाई। यस विद्यालयले हासिल गरेको ऐतिहासिक सफलताका लागि विभिन्न समयमा विद्यालय व्यवस्थापन समिति लगायत विभिन्न पदमा रहेर योगदान पुर्‍याउनुभएका अग्रजहरू, बिब्यस,शिक्षक अभिभावक संघ,सल्लाहकार , स्थानीय तह,शिक्षकवर्ग, विद्यार्थी, अभिभावक, बुद्धिजीवी एवं नागरिक समाज सम्पूर्णमा हार्दिक धन्यवाद दिन चाहन्छौ।

यस उल्लेखनीय उपलब्धिका लागि सम्पूर्ण विद्यालय परिवारमा बधाई ज्ञापन गर्दै आगामी दिनमा यस भेगको शैक्षिक उन्नयनमा विद्यालय अझ सशक्त रूपमा अघि बढ्नुका साथै अझ भोलिका दिनमा बिद्यालय आजको सफलतालाई आत्मसात गर्दै तपाईहरुको साथ अनि सहयोगको निरन्तर आशा अनि बिश्वास गर्दै थप उर्जाको साथ बिद्यालय परिवार अघि बढ्नेमा बिश्वस्थ दिलाउन चाहन्छौ।बिद्यालय परिवारको सामुहिक प्रयासबाट प्राप्त यो उपलब्धि प्रति बिद्यालय प्रसासनले उच्च स्थानमा राखि अघि बढ्ने प्रतिबद्धता समेत प्रकट गर्न चाहन्छ ।“

बागमति प्रदेशबाट जनप्रिय मावि उत्कृष्ट भइरहँदा कोसी प्रदेशबाट पाचथरको फिदिम माध्यमिक विद्यालय, मधेष प्रदेशबाट धनुषा जिल्लाको जनता नमूना माध्यमिक विद्यालय उत्कृष्ट घोषित भई सम्मानित भएका हुन् । त्यसैगरी गण्डकी प्रदेशबाट तनहुँको दुलेगौडा स्थित पञ्चदेवमुनी मावि, लुम्वीनी प्रदेशबाट तम्घास स्थित गुल्मी जिल्लाको सिद्दबाबा मावि कर्णाली प्रदेशबाट सुर्खेत स्थित त्रिपुरेश्वर मावि र सुदुरपश्चिम प्रदेशबाट दार्चुला स्थित मालिकार्जुन मावि उत्कृष्ट घोषित भई सम्मानित भएका हुन् ।

यता उत्कृष्ट प्रधानाध्यापकहरु छनौट विधामा भने कोसीबाट श्री पब्लिक मावि धरान सुनसरीका प्रधानाध्यापक डा ईन्द्रमोहन झा, मधेष प्रदेशबाट चन्दा नमूना मावि सप्तरीका गौरीशंकर चौधरी, बागमति प्रदेशबाट डहु मावि रामेछापका दलबहादुर बल उत्कृष्ट घोषित भई सम्मानित भएका हुन् । त्यसैगरी गण्डकी प्रदेशबाट ज्ञानप्रकाश मावि म्याग्दीका शान्त नेपाली, लुम्विनी दमकडा नमूना मावि पाल्पाका मोहनप्रसाद सापकोटा, कर्णाली प्रदेशबाट महाकाली नमूना मावि मुगुका खडक रोकाया र सुदुरपश्चिम प्रदेशबाट धनगढी मावि कैलालीका लक्ष्मणदत्त भट्ट उत्कृष्ट प्रधानाध्यापक छनौट भई सम्मानित भएका हुन् ।

यता आफ्नो वडामा रहेको जनप्रिय मावि बागमती प्रदेशकै उत्कृष्ट घोषित भएकोमा हेटौँडा १६ का अध्यक्ष रामकृष्ण कोईरालाले समेत सामाजिक सञ्जाल फेसबुकमार्फत नै बधाई तथा शुभकामना ब्यक्त गरेका छन् । उनले भनेका छन् – “प्रधानाध्यापक संघ नेपालद्वारा आयोजित ‘तेस्रो राष्ट्रिय सम्मेलन–२०८३‘ को अवसरमा हेटौँडा १६ स्थित जनप्रिय माध्यमिक विद्यालय बागमती प्रदेशको‘उत्कृष्ट माध्यमिक विद्यालय’ का रूपमा सम्मानित भएको छ। देशका सातै प्रदेशबाट एक–एक उत्कृष्ट विद्यालयलाई सम्मानित गर्ने क्रममा बागमती प्रदेशको प्रतिनिधित्व गर्दै जनप्रिय माविले यो गरिमामय सम्मान प्राप्त गर्न सफल भएको हो।

विशेषत: आफ्नै वडामा रहेको यस विद्यालयले हासिल गरेको ऐतिहासिक सफलताका लागि विभिन्न समयमा विद्यालय व्यवस्थापन समितिमा रहेर योगदान पुर्‍याउनुभएका अग्रजहरू, प्रधानाध्यापक, शिक्षकवर्ग, विद्यार्थी, अभिभावक, बुद्धिजीवी एवं नागरिक समाज सम्पूर्णमा हार्दिक बधाई ज्ञापन गर्दछु।

यस उल्लेखनीय उपलब्धिका लागि सम्पूर्ण विद्यालय परिवारमा पुनः बधाई ज्ञापन गर्दै आगामी दिनमा यस भेगको शैक्षिक उन्नयनमा विद्यालय अझ सशक्त रूपमा अघि बढोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछु।“

जनप्रिय मावि हेटौँडा एस ई ई परीक्षा २०८२ को नतिजामा औषत जिपिएको आधारमा मकवानपुर जिल्ला प्रथम हुन सफल भएको हो ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan