हेटौँडा । विद्यार्थीको बौद्धिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले जेसीआई हेटौंडाले आयोजना गरेको अन्तरमाध्यमिक विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिताको उपाधि तुलसी मेहर मेमोरियल माध्यमिक विद्यालयले जितेको छ।
शुक्रबार जेसीज सप्ताह २०२६ अन्तर्गत आयोजित अम्बिका देवी कार्की स्मृति हाजिरीजवाफ प्रतियोगितामा तुलसी मेहर प्रथम भएको हो।
हेटौंडा–९ स्थित जेसीज सचिवालयमा सम्पन्न प्रतियोगितामा प्रथम स्थान हासिल गरेको तुलसी मेहरले नगद ९ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेको छ। त्यस्तै, जि.एस. निकेतन माध्यमिक विद्यालय द्वितीय हुँदै नगद ६ हजार रुपैयाँ र भुटनदेवी माध्यमिक विद्यालय तृतीय हुँदै नगद ३ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेका छन्।
जेसीआई हेटौंडा वर्ष २०२६ का शाखा अध्यक्ष सन्तोष पराजुलीको सभाध्यक्षता तथा हेटौंडा स्कूल अफ म्यानेजमेन्टका प्रिन्सिपल पुरनबहादुर जोशीको प्रमुख आतिथ्यतामा प्रतियोगिता सम्पन्न भएको हो।
कार्यक्रममा पुरस्कार सौजन्यकर्ता तथा जेसीआई हेटौंडा वर्ष २००५ का शाखा अध्यक्ष एवं जेसीआई नेपाल वर्ष २००९ का राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष देवेन्द्र ध्वज कार्कीको विशिष्ट आतिथ्यता रहेको थियो।
कार्यक्रम संयोजक रिदम पौडेलको संयोजनमा सम्पन्न प्रतियोगितामा जेसीआई हेटौंडाका पूर्वअध्यक्षहरू कुशकुमार रिजाल (२००८), रवि नेपाल (२०१८), पवनकुमार कंसाकार (२०२२) र पंकज दास बानियाँ (२०२५) लगायतको उपस्थिति थियो।
जेसीज सप्ताह २०२६ को मूल संयोजक सञ्जयकुमार न्यौपाने र सह–मूल संयोजक विनोद वाग्ले रहेका छन्।

