हेटौँडा । साग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–४, चिसापानीस्थित श्री चेपाङ प्राथमिक विद्यालयका १३० जना विद्यार्थीलाई ट्र्याकसुट तथा शैक्षिक सामग्री वितरण गरेको छ।
बैंकको हेटौँडा शाखाको पहलमा शुक्रबार आयोजित कार्यक्रममा विद्यार्थीलाई जाडो मौसममा प्रयोग गर्न मिल्ने ट्र्याकसुट, कापी र कलम वितरण गरिएको हो। जाडो मौसममा विद्यार्थीलाई सहजता प्रदान गर्नुका साथै पठनपाठनमा सहयोग पुर्याउने उद्देश्यले सामग्री वितरण गरिएको बैंकले जनाएको छ।
हेटौँडा शाखाका शाखा प्रबन्धक बिनेश कार्कीको पहलमा सम्पन्न कार्यक्रममा बैंकका वीरगञ्ज–चितवन सबक्लस्टर प्रमुख रूपक मैनाली, हेटौँडा शाखाका कर्मचारी तथा विद्यालय परिवारको उपस्थिति थियो। कार्यक्रममा बैंककी मार्केटिङ प्रमुख अर्पणा बज्राचार्यको सहयोग र प्रेरणासमेत रहेको थियो।
स्थानीय चेपाङ समुदायका बालबालिकाको शैक्षिक तथा दैनिक जीवनमा सहयोग पुर्याउने उद्देश्यले गरिएको यस कार्यक्रमले विद्यार्थीमा उत्साह र आत्मविश्वास अभिवृद्धि गर्ने विश्वास बैंकले लिएको छ।
बैंकिङ सेवासँगै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै आएको बैंकले शिक्षा, सामाजिक विकास तथा सामुदायिक हितका क्षेत्रमा विभिन्न सामाजिक तथा मानवीय कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

