Search
Close this search box.

हेटौंडामा अत्याधुनिक पानी परीक्षण प्रयोगशाला सञ्चालनको तयारी

हेटौंडा । हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले अत्याधुनिक पानी परीक्षण प्रयोगशाला सञ्चालनको तयारी अन्तिम चरणमा पुर्‍याएको छ। बोर्डको कार्यालयमै निर्माण भएको सो प्रयोगशालामा आवश्यक उपकरणहरु जडान भइसकेका छन् भने परीक्षणका लागि आवश्यक रसायन किट ल्याउने प्रक्रिया पनि अन्तिम चरणमा पुगेको छ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना र हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको संयुक्त लगानीमा निर्माण गरिएको यो प्रयोगशालाले पानीको गुणस्तर परीक्षणलाई वैज्ञानिक र विश्वसनीय बनाउन सहयोग पुर्‍याउने विश्वास गरिएको छ। प्रयोगशालाको सञ्चालनले केवल मकवानपुर जिल्लामै सीमित नरहेर, छिमेकी जिल्लाका उपभोक्तालाई समेत सहज रूपमा पानी परीक्षण सेवा उपलब्ध गराउनेछ।

बोर्डका सूचना अधिकारी सन्जय न्यौपानेका अनुसार,
३१ लाख रुपैयाँको लागतमा टेन्डर आह्वान गरिएकोमा काठमाडौँस्थित जेएचएस एनालिटिक कम्पनीले २२ लाख रुपैयाँमा उपकरण आपूर्ति र जडानको जिम्मा लिएको हो। कम्पनीले ४ महिनाभित्र आवश्यक सबै सामग्री जडान गरिसकेको छ।

बोर्डका प्रशासन प्रमुख माधव चौलागाईंका अनुसार, प्रारम्भिक चरणमा राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड २०७९ र सोही मापदण्ड कार्यान्वयन तथा अनुगमन निर्देशिका २०७९ अनुसार तोकिएका २८ परीक्षणमध्ये १४ वटा भौतिक, रासायनिक र सूक्ष्म जैविक (microbiological) परीक्षणहरु गरिनेछन्। बाँकी परीक्षणका लागि आवश्यक रसायन तथा विशेषज्ञ प्राविधिकको व्यवस्थापछि पूर्णरूपमा सेवा विस्तार गरिने योजना रहेको छ।

चौलागाईंका अनुसार, “यसअघि २०७५ सालदेखि बोर्डले सामान्य उपकरणमार्फत पानी परीक्षण गर्दै आएको थियो। अब भने आधुनिक उपकरणको प्रयोगले परीक्षणको नतिजा अझै विश्वसनीय र मापदण्डअनुसार हुनेछ।”

नयाँ प्रयोगशालाबाट विशेषगरी मधेस प्रदेशलगायतका विभिन्न जिल्लाबाट आउने पानीका नमूनाहरूको समेत परीक्षण सम्भव हुने छ।

प्रयोगशाला सञ्चालनसँगै स्थानीय तहमा नै विस्तृत र मापदण्डअनुसारको पानी परीक्षण सेवा सहज र सुलभ हुने अपेक्षा गरिएको छ। हेटौंडा-२ स्थित कार्यालयबाट नै सेवा सुरु गरिने बताइएको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan