Search
Close this search box.

प्रभास घिमिरेकाे स्मृतिमा स्मृति ग्रन्थ लाेकार्पण तथा अक्षय काेष स्थापना

हेटाैँडा- नवसर्जक साहित्य चाैतारी नेपाल, केन्द्रीय समितिकाे आयाेजनामा चाैतारीका संस्थापक सदस्य प्रभास घिमिरेकाे प्रथम स्मृति दिवसकाे सन्दर्भमा ‘प्रभास घिमिरे : सम्झना र सिर्जना’ नामक स्मृति ग्रन्थ लाेकार्पण तथा अक्षयकोष स्थापना भएकाे छ ।

संस्थाकी अध्यक्ष कृतिका लाैडारीकाे अध्यक्षता एवम् हेटाैँडा उपमहानगरपालिकाकी नगर प्रमुख मिनाकुमारी लामाकाे प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा हेटाैँडा उपमहानगरपालिकाका ४ न. वडाका अध्यक्ष नवीन सिग्देल, वडा न. ११ की अध्यक्ष जुना दाहाल, सर्जक सञ्जाल मकवानपुरका संयाेजक निमेष निखिल तथा चाैतारीका केन्द्रीय संरक्षक एवम् परिकल्पनाकार दीपक गाैतमकाे विशिष्ट आतिथ्य रहेकाे थियाे । कार्यक्रममा स्मृतिग्रन्थ प्रकाशन तथा अक्षयकाेष स्थापनाका सन्दर्भबारे चाैतारीका संरक्षक दीपक गाैतमले प्रकाश पारेका थिए भने संप्रस पाैडेलले प्रभासका रचना सङ्कलन, सम्पादन तथा सिस्नुपानी नेपाल मकवानपुरका कार्यक्रममा प्रभासकाे प्रस्तुतिबारे चर्चा गरे । त्यस्तै डा. निमेष निखिलले स्मृति ग्रन्थबारे टिप्पणी प्रस्तुत गरे । त्यस्तै जनार्दन खनाल, डिबी बर्ताैला, कृतिका लाैडारी, स्वस्तिका दाहाल, रचना भण्डारी, प्रबिना प्रयासी, स्वस्तिका बानियाँ, सुन्दर कँडेललगायतले स्मृतिग्रन्थभित्रका प्रभासका कविता, गजल, मुक्तक, हास्यव्यङ्ग्य रचना वाचन गरे ।

कार्यक्रमकै सन्दर्भमा हेटाैँडा उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामा, हेटाैँडा-४ न. वडाका अध्यक्ष नवीन सिग्देल तथा ११ न. वडाकी अध्यक्ष जुना दाहालले अक्षयकोष स्थापनामा विशेष याेगदान गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा उपस्थित व्यक्ति तथा संस्थाका तर्फबाट पनि करिब १ लाख बराबारकाे रकम सङ्कलन भएकाे संस्थाकी अध्यक्ष लाैडारीले बताइन् । नवसर्जक चाैतारीका संस्थापक सदस्य रहेका २१ वर्षे प्रभासकाे गत वर्ष २०८१ कात्तिक २१ गते भारतकाे वृन्दावन जाने क्रममा सवारी दुर्घटनाका कारण लखनउमा निधन भएकाे थियाे ।

छन्द कविता लेखन तथा वाचन, हास्यव्यङ्ग्य लेखन तथा प्रहसन एवम् धार्मिक कार्यक्रममा प्रवचनका क्षेत्रमा घिमिरे उदीयमान प्रतिभाका रूपमा रहेका र उनकै अमरत्वका लागि स्मृति ग्रन्थ प्रकाशन तथा अक्षयकोष स्थापना अभियानकाे थालनी गरिएकाे चाैतारीका संरक्षक दीपक गाैतमले जानकारी दिए । कार्यक्रममा प्रभासकी माता पार्वती घिमिरे, पिता वृहस्पति घिमिरे, परिवारजन, परमानन्द संस्कृत गुरुकुलम् , देवघाटधामका गुरुजन तथा आफन्तजन एवम् मकवानपुरका साहित्य, कलासम्बद्ध सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधि गरी १२५ जनाकाे उपस्थिति रहेकाे थियाे ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan