हेटौंडा । हेटौंडा उपमहानगरपालिका–४ मा रहेको भुटनदेवी माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय) ले निजी स्रोतमा कार्यरत १३ जना शिक्षक तथा कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराएको छ।
विद्यालयमा कम्तीमा दुई शैक्षिक सत्र पूरा गरेका शिक्षक तथा कर्मचारीलाई कोषमा समावेश गरिएको हो। बुधबार आयोजित औपचारिक कार्यक्रममा जिफन्टका केन्द्रीय अध्यक्ष विनोद श्रेष्ठ र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवीन सिग्देलले ६ जना शिक्षक र ७ जना कर्मचारीलाई सामाजिक सुरक्षा कोषको परिचयपत्र वितरण गरे।
विद्यालयका प्रधानाध्यापक सूर्यप्रसाद घिमिरेका अनुसार सामाजिक सुरक्षा कोषका लागि विद्यालयले छुट्टै कोष स्थापना गरेको छ, जसमा हरेक वर्ष नियमित रूपमा रकम जम्मा गरिनेछ। शिक्षक तथा कर्मचारीको भविष्य सुरक्षित गर्दै संस्थामा दीर्घकालीन रूपमा टिकाइराख्ने उद्देश्यले यो अवधारणा ल्याइएको उनले बताए।
व्यवस्थापन समितिका अध्यक्ष तथा हेटौंडा–४ का वडा अध्यक्ष नवीन सिग्देलले विद्यालयको तर्फबाट २० प्रतिशत र कर्मचारीको तर्फबाट ११ प्रतिशत योगदान सामाजिक सुरक्षा कोषमा जम्मा गरिने जानकारी दिए। उनले विभिन्न चरणमा छलफल गरी स्पष्ट मापदण्ड तयार पारेर शिक्षक–कर्मचारीलाई कोषमा आबद्ध गराइएको उल्लेख गरे।
“कोषमा आबद्ध गराउनु मात्र ठूलो कुरा होइन, त्यसलाई निरन्तरता दिनु अझ महत्वपूर्ण हो,” अध्यक्ष सिग्देलले भने। उनले सामाजिक सुरक्षा कोषलाई २०३६ सालको शिक्षक आन्दोलनको महत्वपूर्ण उपलब्धिका रूपमा समेत उल्लेख गरे।
कार्यक्रममा बोल्दै जिफन्टका केन्द्रीय अध्यक्ष विनोद श्रेष्ठले हालसम्म करिब २७ लाख श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध भइसकेको जानकारी दिए। सामाजिक सुरक्षा कोषबारे अझै पनि श्रमिक, रोजगारदाता र सरकारलाई पर्याप्त रूपमा बुझाउन आवश्यक रहेको उनले बताए।
सीमित स्रोतसाधनका बीच पनि मानव संसाधनको सुरक्षालाई प्राथमिकतामा राख्दै विद्यालयले ऐतिहासिक निर्णय लिएको विद्यालय प्रशासनले स्पष्ट पारेको छ। कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष तथा हेटौंडा–१० का वडा अध्यक्ष फुर्वा दोर्जे लामा, हेटौंडा–१५ का वडा अध्यक्ष सुनिल मोक्तान लगायत शिक्षक तथा कर्मचारीको उपस्थिति रहेको थियो।

