हेटौँडा । हेटौँडा उपमहानगरपालिका २ स्थित सिद्धार्थ माध्यामिक विद्यालयले विद्यालय स्थापनाको ५० औँ वर्ष पूरा भएको अवसरमा स्वर्ण महोत्सवका क्रममा आयोजित दन्त शिविर सम्पन्न भएको छ ।
स्वर्ण महोत्सव विविध कार्यक्रमको आयोजना गरी मनाउने क्रममा विद्यालय परिसरमा सोमबार आयोजित निःशुल्क दन्त शिविरमा ४५० जना विद्यार्थीको दाँतको परीक्षण गरिएको छ ।
विद्यालयका प्रधानाध्यापक परमानन्द सरोज कर्णले विद्यार्थीको दाँत जाँचका क्रममा १४६ जना विद्यार्थीमा दाँतसम्बन्धी समस्या देखिएको जानकारी दिए ।
रोटरी क्लब अफ हेटौँडा, भुटनदेवी मावि एल्मुनाई एसोसिएसन र सिद्धार्थ निमावि २०३७ ब्याचका विद्यार्थीहरुको समुहको सहयोगमा दन्त शिविर आयोजना गरिएको हो ।
यसअघि स्वर्ण महोत्सवकै अवसरमा गत साता विद्यालयमा ईसिडीदेखि १२ कक्षासम्म अध्ययनरत ९५० विद्यार्थीको आँखा जाँच गरिएको थियो ।
यसैबिच विद्यालयको स्वर्ण महोत्सवका अवसरमा विभिन्न सरकारी तथा गैरसरकारी सङ्घसंस्था, भूतपूर्व विद्यालय, शुभेच्छुकलगायतले सहयोग गर्ने क्रममा सिद्धार्थ निमाविको २०३९ ब्याचका विद्यार्थीहरुको समुहले सोमबार नै एक कार्यक्रमका बिच आर्थिक सहयोग हस्तान्तरण गरेका छन् । सो अवसरमा विद्यालयलाई प्रविधिमैत्री बनाउन र शैक्षिक उन्नयनका लागि विभिन्न कार्यक्रम र सहयोग गर्ने बारेमा छलफल भएको थियो ।



