Search
Close this search box.

सिद्धार्थ माविको स्वर्ण महोत्सव, साताव्यापी शैक्षिक तथा सांस्कृतिक कार्यक्रम

हेटौँडा । हेटौँडा उपमहानगरपालिका–२ मा रहेको सिद्धार्थ माध्यमिक विद्यालयले स्थापना भएको ५० वर्ष पूरा गरेको अवसरमा स्वर्ण महोत्सव मनाउने भएको छ । विद्यालयले माघ २ गतेदेखि सात दिनसम्म विविध शैक्षिक, बौद्धिक तथा प्रतियोगितात्मक कार्यक्रम आयोजना गर्ने तयारी गरेको छ ।

मङ्गलबार विद्यालय परिसरमा आयोजित पत्रकार सम्मेलनमा स्वर्ण महोत्सव तयारी मूल आयोजक समितिका संयोजक तथा वडा नम्बर २ का वडाध्यक्ष विष्णुगोपाल महर्जनले विद्यालयको मूल लक्ष्य गुणस्तरीय र व्यवहारिक शिक्षा प्रदान गर्नु रहेको बताए । उनले विद्यालयले भौतिक संरचनासँगै शिक्षाको स्तर उकास्न प्रविधिको प्रयोगलाई प्राथमिकतामा राखेर अघि बढिरहेको उल्लेख गरे ।

विद्यालयका प्रधानाध्यापक परमानन्द सरोज कर्णले स्वर्ण महोत्सवका अवसरमा नगरस्तरीय हाजिरीजवाफ प्रतियोगिता, शैक्षिक अन्तरक्रिया, सांस्कृतिक कार्यक्रमलगायत गतिविधि सञ्चालन गरिने जानकारी दिए । उनले विद्यालयले पछिल्लो समय प्रविधिमैत्री शिक्षण प्रणाली अपनाउँदै शैक्षिक उपलब्धि सुधारमा योगदान पुर्‍याउँदै आएको बताए ।

पत्रकार सम्मेलनमा वडा सदस्य सुरज बर्तौला र ईन्द्र रिजाल, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष हरि हुमागाई, मकवानपुर शाखाका अध्यक्ष बालकृष्ण अधिकारी, पूर्व अध्यक्ष राममणि दाहाल, सहायक प्रधानाध्यापक रामशरण अधिकारी र खेमराज लामिछाने तथा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष रामचन्द्र ढकाललगायतको उपस्थिति रहेको थियो ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan