Search
Close this search box.

बोलेरो पिकअप दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

मकवानपुर । मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका–२ सिमखोला पुल नजिक भिमफेदी–कुलेखानी–काठमाण्डौ सडकखण्डमा बिहीबार बिहान बोलेरो पिकअप गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बिहीबार बिहान करिब १ बजे सर्लाहीबाट काठमाण्डौ तर्फ जाँदै गरेको म.प्र.०३–००१ च ६७२१ नम्बरको कुखुरा लोड बोलेरो पिकअप गाडी ब्रेक फेल भई अनियन्त्रित हुँदा सडकबाट करिब ५–७ मिटर तल खोल्सामा खसेर दुर्घटना भएको हो।

दुर्घटनामा सवार तीन जनामध्ये सर्लाही वरथवा नगरपालिका–१ निवासी करिब १७ वर्षीय रोहन मण्डलको टाउको तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो। उनलाई उपचारका लागि काठमाण्डौ मेडिकल कलेज लगिएकोमा उपचारकै क्रममा बिहान ४:४५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

यस्तै, सोही स्थानका करिब १६ वर्षीय छोटे पासवानको कम्मरमा चोट लागेको छ भने २५ वर्षीय चालक रामवली साह सामान्य घाइते भएका छन्। दुवैको काठमाण्डौ मेडिकल कलेजमा उपचार भइरहेको छ।

घटनाको खबर प्राप्त हुनासाथ प्र.चौ. खानिखेत, मकवानपुरबाट प्र.स.नि. मनोज चौधरीको कमाण्डमा ट्राफिक सहित तीन जनाको प्रहरी टोली खटिएर बिहान करिब १:३० बजे घटनास्थलमा पुगेको थियो। घाइते तीनै जनालाई उद्धार गरी एम्बुलेन्समार्फत काठमाण्डौ पठाइएको प्रहरीले जनाएको छ।

बोलेरोमा लोड गरिएका करिब ५०० कुखुरामध्ये ३०० कुखुरा मरेका छन्। दुर्घटनास्थल प्र.चौ. खानिखेतबाट करिब ४ किलोमिटर पश्चिममा पर्छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan