हेटौंडा ।असमानता विरुद्धको नागरिक अभियानअन्तर्गत आयोजित छलफल कार्यक्रममा मकवानपुर क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार दीपक बहादुर सिंहको अभिव्यक्तिलाई लिएर चर्को बहस र आलोचना भएको छ।
बिहीबार गैरसरकारी संस्था महासंघ नेपाल, बागमती प्रदेश समिति हेटौंडाको आयोजनामा सम्पन्न छलफल कार्यक्रममा, सिंहले मतदाता भेटघाटका क्रममा प्रतिस्पर्धी उम्मेदवारलाई लक्षित गर्दै अपमानजनक र महिलामाथि होच्याउने अभिव्यक्ति दिएको भन्दै सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि मानव अधिकारकर्मी तथा नागरिक समाजको गम्भीर ध्यानाकर्षण भएको हो।
छलफलमा सहभागी वक्ताहरूले सिंहले मतदातामाझ ‘जुँगा समात्ने कि पेटिकोट´ भन्ने अभिव्यक्ति प्रयोग गर्दै मत मागेको आरोपलाई गम्भीर रूपमा उठाएका थिए। उनीहरूले यस्तो अभिव्यक्ति केवल एक उम्मेदवारमाथि मात्र नभई सम्पूर्ण महिलामाथिको अपमान भएको भन्दै आपत्ति जनाए।
गैरसरकारी संस्था महासंघ बागमती प्रदेश अध्यक्ष कमल कुमार विश्वकर्माले निर्वाचनका उम्मेदवारबाट यस किसिमको भाषा प्रयोग हुनु निन्दनीय भएको बताए। “लोकतान्त्रिक अभ्यासमा कसैलाई पनि लिंग, पहिचान वा व्यक्तिगत आधारमा आक्षेप नलगाई मर्यादित ढंगले अघि बढ्नुपर्छ,” उनले भने।
गैरसरकारी संस्था महासंघ मकवानपुर जिल्ला अध्यक्ष रमिला सापकोटाले लिंगका आधारमा विभेद गरेर चुनाव जित्ने सोच गलत भएको बताइन्। “यो अभिव्यक्ति महिलामाथि मात्र होइन, सम्पूर्ण समाजमाथि गरिएको अपमान हो,” उनले भनिन्। सिंहको यो व्यवहार पहिलो पटक नभई पटक–पटक दोहोरिएको भन्दै आगामी दिनमा सच्चिन आग्रह गरिन्।
कार्यक्रममा सहभागी अधिकारकर्मीहरूले महिलामाथि हुने यस्ता अभिव्यक्ति र व्यवहार समाजमा अझै पनि गहिरो रूपमा विद्यमान रहेको भन्दै चिन्ता व्यक्त गरे। उनीहरूले यस्ता घटनाले समानता र सम्मानको मूल्यलाई कमजोर बनाउने बताए।
छलफलमा असमानता विरुद्ध नागरिक अभियानलाई कसरी अझ प्रभावकारी बनाउने भन्ने विषयमा समेत विचार विमर्श गरिएको थियो। अध्यक्ष विश्वकर्माका अनुसार, हरेक वर्ष जनवरीमा स्विट्जरल्यान्डको डाभोसमा आयोजना हुने विश्व आर्थिक मञ्चको बैठकको सन्दर्भमा नेपालमा पनि विगत केही वर्षदेखि असमानता विरुद्ध अभियान सञ्चालन हुँदै आएको छ। ती अभियानमार्फत नीति निर्माताको ध्यानाकर्षण गराउने र नागरिक आवाजलाई सशक्त बनाउने उद्देश्य रहेको उनले बताए।
कार्यक्रममा मामाघर नेपालका सञ्चालक अर्पण पराजुली, महिलाका लागि महिला एकल महिला समूह अध्यक्ष शारदा चौलागाईं, मानव अधिकार संगठन अध्यक्ष शर्मिला श्रेष्ठ, संघ उपाध्यक्ष कुमारी वाइबा, नेपाल पत्रकार महासंघ मकवानपुर अध्यक्ष बालकृष्ण अधिकारीलगायत मानव अधिकारकर्मीहरूको उपस्थिति थियो।
यता, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भने यो विषयलाई लिएर मतदातालाई भ्रमित गर्ने नियोजित प्रयास भएको दाबी गर्दै बुधबार प्रेस विज्ञप्ति जारी गरेको छ।


