Search
Close this search box.

हेटौँडा–१० मा तेस्रो घरेलु उत्पादन प्रवर्द्धन मेला तथा नृत्य प्रतियोगिता हुँदै

हेटौंडा । हेटौँडा उपमहानगरपालिका–१० नम्बर वडा कार्यालयको आयोजनामा तेस्रो घरेलु उत्पादन प्रवर्द्धन प्रदर्शनी तथा नृत्य प्रतियोगिता आगामी १६ र १७ गते आयोजना हुने भएको छ। दुई दिनसम्म चल्ने मेलामा घरेलु तथा स्थानीय उत्पादनको प्रदर्शनी, कृषि सामग्रीको अवलोकन, सांगीतिक प्रस्तुति र नृत्य प्रतियोगिता समावेश गरिनेछ।

वडा कार्यालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा वडा अध्यक्ष फूर्वा दोर्जे तामाङले हेटौँडा उपमहानगरपालिकाका १९ वटै वडाको सहभागितामा मेला आयोजना गर्न लागिएको जानकारी दिए। उनका अनुसार राजनीतिक दल, टोल विकास संस्था, उद्योग वाणिज्य संघ मकवानपुर, सामुदायिक वन उपभोक्ता समूह तथा वडा–१० को ब्राण्डका रूपमा स्थापित ढाका उद्यमी समूहको सहकार्यमा कार्यक्रम सञ्चालन गरिनेछ।

स्थानीय साना उद्योग तथा लघु उद्यमीहरूले उत्पादन गरेका वस्तुहरूको प्रवर्द्धन, प्रदर्शनी तथा बजारीकरणमा सहयोग पुर्‍याउने उद्देश्यले मेला आयोजना गरिएको अध्यक्ष तामाङले बताए। मेलामा स्थानीय जातजाति, भेषभूषा र संस्कृति झल्कने पर्यटन तथा खाना महोत्सव पनि रहनेछ।

दुईदिने मेलामा घरेलु उत्पादनका लागि १ सय वटा स्टल रहनेछन्। स्टल निःशुल्क उपलब्ध गराइनेछ भने सहभागी व्यवसायीका लागि यातायात सुविधासमेत व्यवस्था गरिएको आयोजकले जनाएको छ। प्रदर्शनीमा सहभागीमध्ये उत्कृष्ट व्यवसायीलाई पुरस्कार प्रदान गरिनेछ।

नृत्य प्रतियोगितातर्फ प्रथम हुनेलाई ५० हजार रुपैयाँसहित सम्मान पत्र, दोस्रो हुनेलाई ३५ हजार रुपैयाँ, तेस्रो हुनेलाई २० हजार रुपैयाँ र सान्त्वना हुने चार जनालाई जनही ५ हजार रुपैयाँका दरले पुरस्कार प्रदान गरिनेछ।

यस्तै, वडामा स्थायी बसोबास गरेका तथा सामुदायिक विद्यालयबाट एसईई र माध्यमिक तहमा ३.२५ जीपीए हासिल गर्ने विद्यार्थीलाई सम्मान गरिनेछ। संस्थागत विद्यालयतर्फ एसईईमा ३.२५ जीपीए र माध्यमिक तहमा ३.६५ जीपीए ल्याउने विद्यार्थीलाई पनि पुरस्कृत गरिनेछ।

मेलाको समापन समारोहमा राष्ट्रिय खेलाडी, अटोमेकानिक मिस्त्री तथा विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका उद्यमीहरूलाई सम्मान गर्ने कार्यक्रम राखिएको छ। मेला सम्पन्न गर्न मूल समिति सहित ६ वटा उपसमिति गठन गरिएको छ भने कार्यक्रमका लागि करिब ८ लाख रुपैयाँ लागत अनुमान गरिएको आयोजकले जनाएको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan