हेटौँडा। मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत सञ्चालित हेटौंडा अस्पतालको बहुप्रतिक्षित नयाँ भवन निर्माण अन्तिम चरणमा पुगेको छ । स्वास्थ्य सेवाको दायरा विस्तार गर्ने लक्ष्यसहित निर्माण गरिएको पाँचतले भवन छिट्टै हस्तान्तरण हुने तयारीमा रहेको प्रतिष्ठानले जनाएको छ ।
७ हजार ४ सय २६ वर्गमिटर क्षेत्रफलमा फैलिएको उक्त भवन संघीय सरकारको २२ करोड ४६ लाख रुपैयाँको लागतमा निर्माण गरिएको हो । २०७८ असार १८ गते शहरी विकास तथा भवन कार्यालयमार्फत बिकोई नवसिर्जनशील जेभीसँग दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि समयमै काम नसकिएपछि २०८० मा म्याद थप गरिएको थियो । थपिएको अवधिमा निर्माण कम्पनीले काम लगभग पूरा गरी हस्तान्तरणको तयारी थालेको हो ।
प्रतिष्ठानका प्रमुख प्रशासकीय अधिकृत अमर अधिकारीका अनुसार भवनको भौतिक प्रगति ९९.५ प्रतिशत र आर्थिक प्रगति ९३ प्रतिशत पुगेको छ । नयाँ संरचना सञ्चालनमा आएपछि अस्पताललाई क्रमशः २ सय शैयाको क्षमतामा लैजाने दीर्घकालीन योजना रहेको उहाँले जानकारी दिनुभयो ।
नयाँ भवनमा १ सय ५० कोठा रहेका छन् । सुरुमा तीन तलाबाट स्वास्थ्य सेवा सञ्चालन गरिने हेटौंडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रामचन्द्र सापकोटाले बताउनुभयो । उहाँका अनुसार हाल प्रतिष्ठानको शैक्षिक भवन निर्माणाधीन रहेकाले यस वर्ष एउटा तलामा एमबीबीएस कक्षा, अर्को तलामा प्रशासनिक कार्यालय र बाँकी तलामा ओपीडी तथा वार्ड सञ्चालन गरिनेछ ।
हाल अस्पतालमा उपलब्ध नभएका आँखाको ओपीडी, नाक-कान-घाँटी सेवा तथा स्तरोन्नतिसहितका विशेष ओपीडी नयाँ भवनबाट सुरु गर्ने तयारी छ । डायलासिस सेवामा पनि विस्तार गर्दै दैनिक ४०–४४ जनाबाट बढाएर ७० भन्दा बढी बिरामीलाई सेवा दिने लक्ष्य अस्पतालले राखेको छ । मृगौला सम्बन्धी अन्य रोगको उपचार समेत यहीँबाट सञ्चालन गरिनेछ ।
यसैगरी मनोरोग (साइकाइट्रिक) वार्डलाई नयाँ भवनमा स्थानान्तरण गरिनेछ भने मृगौला, न्युरोलोजी जस्ता विशेषज्ञ सेवाका ओपीडीलाई पनि विस्तारित रुपमा सञ्चालन गरिने योजना छ । बाँकी स्थानमा सामान्य बिरामीका लागि जनरल वार्ड विस्तार गरिने अस्पतालले जनाएको छ ।
प्रतिष्ठानको शैक्षिक भवन निर्माण सम्पन्न भएपछि भने नयाँ भवन पूर्ण रुपमा स्वास्थ्य सेवामै प्रयोग गर्ने तयारी रहेको छ । साथै चालु आर्थिक वर्षमै एनआईसीयु र पिआईसीयु सेवा सुरु गर्ने लक्ष्यसहित अस्पताल अघि बढिरहेको छ ।
नयाँ भवन सञ्चालनमा आएपछि हेटौंडा तथा आसपासका जिल्लाका नागरिकले गुणस्तरीय र विशेषीकृत स्वास्थ्य सेवा आफ्नै क्षेत्रमा पाउने अपेक्षा गरिएको छ ।

