राष्ट्रियसभा निर्वाचन सुरु, मतदान जारी
हेटौंडा । बागमती प्रदेशमा राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज बिहानदेखि मतदान प्रक्रिया सुरु भएको छ। हेटौंडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयलाई मतदान केन्द्र तोकिएको छ, जहाँ बिहान ९ बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म चल्नेछ।
यस निर्वाचनमार्फत बागमती प्रदेशबाट महिलातर्फ १ र अन्य समूहबाट १ गरी दुई जना राष्ट्रियसभा सदस्य चयन गरिनेछ। प्रदेशसभा सदस्यहरूका लागि ‘क’ मतदान केन्द्र र स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूका लागि ‘ख’ मतदान केन्द्र तोकिएको छ।
सहायक निर्वाचन अधिकृत केशव कौशिकका अनुसार दुवै केन्द्रमा मतदान अधिकृत र सहायक मतदान अधिकृतसहित १६ जना कर्मचारी परिचालन गरिएको छ।
प्रदेशसभाका ११० सदस्य मध्ये हाल १०४ जना मात्र कायम रहेका छन्। प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिन ६ जनाले राजीनामा दिएका छन्। त्यस्तै, स्थानीय तहमा ३ जना प्रमुखले पद छाडेपछि मतदाता संख्या घटेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ।
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह, भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहाल र धुलिखेल नगरपालिकाका प्रमुख अशोक बेन्जुले स्थानीय तहतर्फ राजीनामा दिएका हुन्। प्रदेशसभातर्फ एमाले, माओवादी केन्द्र, राप्रपा र नेपाली कांग्रेसका गरी ६ जना सांसदले पद त्याग गरिसकेका छन्।
हाल स्थानीय तहका प्रमुख तथा उपप्रमुख गरी २३४ जना मतदाता कायम छन् भने प्रदेशसभातर्फको मतदाता संख्या १०४ रहेको छ। मतभारका आधारमा प्रदेशसभाबाट ५ हजार ५ सय १२ र स्थानीय तहतर्फ ४ हजार ४ सय ४६ मतभार रहेको छ। कुल मतभार ९ हजार ९ सय ५८ पुगेको छ।
निर्वाचनमा महिलातर्फ ३ जना र अन्य समूहबाट ३ जना गरी कुल ६ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। नेपाल मजदुर किसान पार्टी, एमाले–कांग्रेस गठबन्धन र नेकपाका उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा देखिएको छ।
हाल बागमती प्रदेशबाट राष्ट्रियसभामा प्रतिनिधित्व गरिरहेका गंगाकुमारी बेलवासे र बेदुराम भुसालको कार्यकाल आगामी फागुनमा समाप्त हुँदैछ, जसका कारण यो निर्वाचनलाई विशेष महत्वका साथ हेरिएको छ।

