हेटौंडा । राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत बागमती प्रदेशबाट हुने निर्वाचनमा दुई सिटमा एमाले–कांग्रेस गठबन्धनका उम्मेदवार विजयी भएका छन्। महिला क्लस्टरबाट नेपाली कांग्रेसकी गिता देवकोटा र अन्य क्लस्टरबाट डा. प्रेम प्रसाद दंगाल निर्वाचित भएका हुन्।
महिला क्लस्टरमा देवकोटाले कुल ६ हजार २३९ मत प्राप्त गर्दै विजय हासिल गरिन्। उनले प्रदेश सभाका ६० र स्थानीय तहका १६१ मत पाएकी हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपाकी सरोज कुमारी झाले २ हजार ५२२ मतमा सीमित भइन्। झाले प्रदेश सभाबाट २५ र स्थानीय तहबाट ६३ मत पाइन्। सोही पदमा उम्मेदवार रहेकी नेमकिपाकी कविता महर्जनले १९७ मत मात्र प्राप्त गरिन्।
निर्वाचनमा प्रदेश सभा तर्फ ८९ मतदाता रहेकामा ८८ मत सदर भएको थियो भने स्थानीय तह तर्फ २२९ मतमध्ये २२६ मत सदर र ३ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ।
अन्य क्लस्टरतर्फ डा. प्रेम प्रसाद दंगालले ६ हजार २०५ मत प्राप्त गर्दै राष्ट्रिय सभामा प्रवेश गरेका छन्। उनले प्रदेश सभाबाट ५९ र स्थानीय तहबाट १६२ मत पाएका थिए। उनका प्रतिस्पर्धी नेकपाका प्रेमप्रसाद सापकोटाले २ हजार ५४१ मत प्राप्त गरे भने नेमकिपाका उम्मेदवार विक्रम ढुकुछुले १९७ मतमा चित्त बुझाए।
यस परिणामसँगै बागमती प्रदेशमा राष्ट्रिय सभा निर्वाचनमा एमाले–कांग्रेस गठबन्धनको प्रभावशाली उपस्थिति देखिएको छ।



