Search
Close this search box.

मकवानपुरमा कांग्रेसको कार्यकर्ता भेटघाटमा विकास र नेतृत्वबारे उम्मेदवारहरूको प्रतिबद्धता

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरले आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै कार्यकर्ता भेटघाट अभियानलाई तीव्र बनाएको छ। सोही क्रममा मकवानपुरको मनहरी, राक्सिराङ र कैलाशमा आयोजित कार्यक्रममार्फत कांग्रेसका उम्मेदवारहरूले कार्यकर्तासँग भेटघाट तथा छलफल गरेका छन्।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसकी निवर्तमान सहमहामन्त्री तथा मकवानपुर क्षेत्र नम्बर १ की उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाले मकवानपुरका विकट गाउँ–बस्तीमा विकासको मूल फुटाउने शक्ति नेपाली कांग्रेस नै भएको बताउनुभयो। उहाँले कैलाश र राक्सिराङजस्ता विकट क्षेत्रमा नेपाली कांग्रेसकै पहलमा विकासको काम अघि बढेको उल्लेख गर्दै अब जनताको मतबाट जित हासिल गरेपछि ती क्षेत्रलाई अझ विकसित बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

पहिले घण्टौँ लाग्ने यात्रा अहिले केही मिनेटमै सम्भव भएको उदाहरण प्रस्तुत गर्दै डिनाले भनिन्, “यो मेरो अन्तिम उम्मेदवारी हो, अन्तिम पटक मलाई भोट दिएर जिताइदिनुहोस्, त्यसपछि म अभिभावकको भूमिकामा रहनेछु।” जनताको हितमा काम गर्ने पार्टी नेपाली कांग्रेस मात्रै भएको दाबी गर्दै उनले जितेपछि पनि जनताकै सेवामा निरन्तर लागिरहने प्रतिबद्धता जनाइन् ।

यस्तै, नेपाली कांग्रेस मकवानपुरका सभापति तथा मकवानपुर क्षेत्र नम्बर २ का उम्मेदवार बुद्ध लामाले अब देशको नेतृत्व युवा पुस्ताको काँधमा आएको बताए।
“जनतालाई सुख–शान्तिको अनुभूति गराउन र तीव्र विकासका लागि गगन थापालाई प्रधानमन्त्री बनाउनु पर्छ,” लामाले भने । उनले चुनाव जितेपछि मकवानपुरको विकट कैलाश गाउँपालिकालाई पहिलो प्राथमिकतामा राखेर विकास गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।

कार्यक्रममा नेपाली कांग्रेसको समानुपातिक उम्मेदवार शर्मिला श्रेष्ठ, पालिका अध्यक्षहरु, पार्टी सभापतिहरू लगायतको उल्लेख्य उपस्थिति थियो। सोही अवसरमा नेकपा एमाले परित्याग गरी दुई जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan