हेटौँडा। रातो बङ्गला फाउन्डेसनको आयोजनामा बागमती प्रदेशमा ‘गुणस्तरीय प्रारम्भिक बाल शिक्षा किन र कसरी’ विषयक दुई दिने प्रादेशिक सम्मेलन हुने भएको छ। सम्मेलन आगामी माघ २३ र २४ गते हेटौँडास्थित नवोदय शिशु सदन इङ्लिस माध्यमिक विद्यालयमा आयोजना गरिनेछ।
सम्मेलनको उद्देश्य गुणस्तरीय प्रारम्भिक बाल शिक्षाका लागि स्थानीय, प्रदेश तथा राष्ट्रिय तहका अनुभव र अभ्यासहरू आदान–प्रदान गर्नु रहेको आयोजकले जनाएको छ।
ललितपुरमा २०५९ सालमा दर्ता भएको रातो बङ्गला फाउन्डेसनले लामो समयदेखि विद्यालय शिक्षाको गुणस्तर सुधारमा सक्रिय भूमिका खेल्दै आएको छ। फाउन्डेसनले शिक्षक तालिम, अभिभावक शिक्षा, शैक्षिक सामग्री सहयोग, विद्यालय पुनर्निर्माण तथा कक्षाकोठा व्यवस्थापन जस्ता क्षेत्रमा विशेष योगदान गर्दै आएको छ।
यसअघि फाउन्डेसनले सन् २००३ मा राष्ट्रिय सम्मेलन तथा २०१३, २०१९ र २०२४ मा अन्तर्राष्ट्रिय सम्मेलनहरू सफलतापूर्वक आयोजना गरिसकेको छ। ती सम्मेलनहरूमा करिब २ हजार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शिक्षाविद्हरूको सहभागिता रहेको थियो भने तत्कालीन शिक्षा मन्त्रालयसहित नेपाल सरकारको समेत सहकार्य थियो।
यसपटकको सम्मेलनमा संघीय संरचनाअनुसार शिक्षा प्रणालीलाई कसरी प्रभावकारी र सान्दर्भिक बनाउन सकिन्छ भन्ने विषयमा विशेष छलफल हुनेछ। साथै, शिक्षण विधि सुधारका उपायहरू, विद्यालयलाई व्यवहारिक रूपमा बालमैत्री बनाउने तरिकाहरू तथा प्रारम्भिक बाल शिक्षाका चुनौतीहरूबारे अनुभव साटासाट गरिनेछ।
बागमती प्रदेशका १३ वटै जिल्लाबाट करिब २५० जना शिक्षा सरोकारवाला सहभागी हुने अपेक्षा गरिएको यस सम्मेलनले स्थानीय सरकारसँग सहकार्य गर्दै शिक्षाको गुणस्तर अभिवृद्धिका लागि साझा दृष्टिकोण विकास गर्न सहयोग पुर्याउने विश्वास लिइएको छ।
सम्मेलनको पहिलो दिन माघ २३ गते दिउँसो २:३० बजेबाट उद्घाटन समारोह र मुख्य सत्रहरू सञ्चालन हुनेछन्। दोस्रो दिन माघ २४ गते बिहान ८:०० बजेदेखि विषयगत छलफल, नेटवर्किङ सत्र तथा खुला स्टलहरू रहने कार्यक्रम रहेको छ।

