Search
Close this search box.

हेटौंडामा निर्वाचन आचारसंहिता विपरीत नेपथ्यको कन्सर्ट, मिडियामाथि प्रवेश रोक


हेटौंडा । प्रतिनिधिसभा सदस्य निर्वाचन आउन अब एक महिना भन्दा कम समय बाँकी रहेको छ । यो अवस्थामा बुधबार साँझ हेटौंडामा राष्ट्रिय सांगीतिक समूह नेपथ्यको कन्सर्ट भएको छ ।

रमाइलो इभेन्टस् हेटौंडाको आयोजनामा नेपथ्यले कन्सर्टको आयोजना गरेको हो । हेटौंडा–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयको मैदानमा कन्सर्ट भएको हो । निर्वाचन आचारसंहिता विरुद्ध हेटौंडामा नेपथ्यको कन्सर्ट आयोजना गरिएको भन्दै सर्वसाधारणले यसको विरोध जनाएका छन् ।

नगर खेलकुद विकास समितिका सदस्य विजय गौतमले आचारसंहिता मिच्दै हेटौंडामा कन्सर्टको आयोजना गरेको भन्दै सामाजिक सञ्जाल फेसबुक मार्फत आपत्ति जनाएका छन् । ‘आचारसंहिता लाग्दैन ? कस्ले दियो अनुमति हेटौंडामा नेपथ्य ब्यान्डको कार्यक्रम गर्न ?’, उनले लेखेका छन्, ‘कार्यक्रम स्थलमा किन लाग्यो राजनीतिक नारा ? कतै घुसपैठ त भएको होईन ?’

मकवानपुर जिल्ला खेलकुद विकास समितिले पत्रकार सम्मेलनमार्फत खेलकुद तथा व्यापार महोत्सवको मिति घोषणा गर्दै आवश्यक तयारी अघि बढाएपनि प्रशासनले त्यसलाई भने रोकेको थियो । प्रहरी प्रशासनसँगको मिलेमतोमा निर्वाचन आउन एक महिना बाँकी नभएको अवस्थामा नेपथ्यलाई कन्सर्ट गर्न दिइएको भन्दै सर्वसाधारणले विरोध जनाएका हुन् ।

यस विषयमा मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले निर्वाचन आचारसंहिताले मेला महोत्सव गर्न नरोक्ने बताए । ‘स्थानीय तहले अनुमति दिने र हामीले सुरक्षा दिने हो’, उनले भने, ‘कन्सर्टमा आचारसंहिता विरुद्धको काम भयो भने आयोजकलाई कारबाही हुनेछ ।’ नेपथ्यले यहाँ मात्र नभई अन्य जिल्लामा समेत यसपछि कन्सर्टको आयोजना गर्न लागेको अधिकारीले बताए । आचारसंहिता उल्लंघन नगर्ने सहमतिमा अनुमति दिइएको उनको भनाई छ ।

यस विषयमा प्रतिक्रिया लिन प्रदेश निर्वाचन कार्यालय प्रमुख हरिप्रसाद ढकालको मोबाइलमा सम्पर्क गर्दा उनले फोन उठाएनन् । मकवानपुरका प्रहरी प्रमुख श्यामबहादुर खत्रीले आफूले जिल्लाको कमाण्ड सम्हाल्नु अघि नै आयोजकले कन्सर्टको तयारी गरिसकेकोले यस विषयमा केही जानकारी नभएको प्रतिक्रिया दिए ।

कन्सर्टमा ८ हजार भन्दा बढी मानिसको सहभागिता रहेको दावी गरिएको छ । आयोजकले टिकटको मूल्य समेत अधिक राखेको थियो । सामान्यतर्फ १५ सय रुपैयाँ र भिआइपीका लागि ४ हजार रुपैयाँ शुल्क लिएको हो । कुनै एउटा विशेष उद्देश्यमा मात्र कन्सर्टका लागि तयार हुने नेपथ्य ब्याण्ड यो पटक भने उद्देश्य बेगर नै कन्सर्टका लागि तयार भएको हो ।

कन्सर्टको रिपोर्टिङका लागि गएका जिल्लाका पत्रकारलाई कार्यक्रमस्थलमा छिर्न दिइएन । कन्सर्टको विषयमा जानकारी दिन पत्रकार गुहारेका आयोजकले रिपोर्टिङमा भने रोक लगाएको हो । रिपोर्टिङमा गएकाहरु त्यसै फर्किएका छन् । स्थानीय आयोजकले पत्रकारका लागि १५ वटा टिकट उपलब्ध गराएको भन्दै नेपथ्य समूहका व्यवस्थापन सदस्य सुमन बास्तोलाले जानकारी दिएपनि पास प्राप्त नभएको महासंघ मकवानपुरले जनाएको छ ।

‘पत्रकार जाँदा महासंघलाई १५ वटा पास दिएको भनेर बद्नाम गर्ने कार्य गरियो’, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीले भने, ‘आयोजकले हाम्रो कार्यक्रमको रिपोर्टिङ गर्न पर्दैन, पत्रकारलाई प्रवेश निषेध गरिएको छ भनेर भन्न पाइयो । तर महासंघलाई पास दिएको भन्दै हाम्रो गरिमामा हिलो छ्याप्ने कार्य भयो ।’ यता प्रेस युनियन मकवानपुरका अध्यक्ष सुवास बिडारीले पनि आयोजकले पत्रकारलाई बद्नाम गर्ने काम गरेको प्रतिक्रिया दिए । ‘प्रचार चाहिँदा पत्रकार सम्मेलन भन्दै पत्रकार गुहार्ने अनि रिपोर्टिङमा गएका सञ्चारकर्मीलाई भित्र छिर्न नदिनु आयोजकको गम्भीर भुल हो’, प्रेस युनियन मकवानपुर अध्यक्ष सुवास बिडारीले भने, ‘रमाइलो इभेन्ट्सको नाममा जिल्लामा हुने यस्ता कार्यक्रमको विषयमा अब पत्रकारहरुले सोच्नुपर्ने भएको छ ।’

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan