Search
Close this search box.

पत्रकार राममणि दाहाललाई शैक्षिक पत्रकारिता सम्मान

हेटौँडा । हेटौँडा उपमहानगरपालिका १० स्थित सोलिड्यारिटी इन्टरनेसनल ऐकेडेमी माध्यामिक विद्यालयले पत्रकार राममणि दाहाललाई सम्मान गरेको छ ।
विद्यालयले ३३ औँ अभिभावक दिवस एवं विज्ञान प्रदर्शनीको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व अध्यक्ष एवं गोरखापत्रका बागमती प्रदेश संयोजकसमेत रहेका दाहाललाई सम्मानित गरिएको हो ।
सञ्चार क्षेत्रबाट मकवानपुर जिल्लाको शैक्षिक उन्नयनमा योगदान पु¥याएवापत हेटौँडा उपमहानगरपालिका शिक्षा विकास महाशाखाका निमित्त प्रमुख हरिचन्द्र सापकोटाले कार्यक्रममा पत्रकार दाहाललाई सोलिड्यारिटी शैक्षिक पत्रकारिता सम्मान २०८२ बाट पुरस्कृत गरेका हुन् ।
शिक्षा विकास महाशाखाका निमित्त प्रमुख सापकोटाले सोलिड्यारिटी इन्टरनेसनल ऐकेडेमी मावि जिल्लाकै गौरवको विद्यालय भएको भन्दै सुशासन र शैक्षिक सूचकमा उत्कृष्ट बन्न सफल भएको बताए । उनले विद्यार्थीका लागि समाज बुझाउने र व्यवहारिक शिक्षा दिनु आवश्यक भएको जोड दिए ।
प्याव्सन मकवानपुरका अध्यक्ष विनोद सुवेदीले विद्यार्थीमा प्रविधिको दुरुपयोगले विकृति बढ्दै गएकोेले घरबाटै नियन्त्रण थाल्नु पर्ने भन्दै कतिपय देशले डिजिटल माध्यमबाट दिने शिक्षालाई निरुत्साहित गर्दै लगेको बताए। उनले सोलिड्यारिटी इन्टरनेसनल ऐकेडेमी मावि जिल्लाको महत्वपूर्ण शैक्षिक धरोहर भएको बताए।
विद्यालयका प्राचार्य रिना आचार्यले यस वर्ष फरकढङ्गले तीन चरणमा अभिभावक दिवस मनाइएको भन्दै अभिभावक दिवसलाई नाचगानमा सीमित नगरेर विद्यार्थी र अभिभावकका लागि उपयोगी हुने सन्देशमूलक कार्यक्रमहरुलाई प्राथमिकतामा राखिएको बताए । विद्यालयले गुणस्तरीय शिक्षलाई प्राथमिकतामा राखेर काम गर्दै आएको उनको भनाई छ ।
विद्यालयका संस्थापक अध्यक्ष ऋषिराम आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा प्याव्सन मकवानपुरका पूर्व अध्यक्ष मदन दाहाल, सम्मानित पत्रकार राममणि दाहाल, निमावि संयोजक तृष्णा वज्राचार्यलगायतले बोलेका थिए।
कार्यक्रममा वर्ष शिक्षक सम्मान २०८२ बाट मायादेवी छत्कुलीलाई र वर्ष विद्यार्थी सम्मानबाट रियन ठाकुरलाई सम्मान गरिएको थियो ।
साथै दोस्रो त्रैमासिक परीक्षामा प्रथम, द्वितीय र तृतीय हुने कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई चार लाख ५० हजार रुपियाँ बराबरको प्रोत्साहन पुरस्कार प्रदान गरिएको थियो ।
कार्यक्रममा सम्बन्धहरुको उत्सव केन्द्रीय भावसहित गीत, कविता, नाटक र नृत्य प्रस्तुति गरिएको थियो । कार्यक्रममा विद्यार्थीको प्रस्तुतिले अभिभावकलाई गम्भीर र भावुक बनाएको थियो।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan