Search
Close this search box.

हेटौँडामा गुणस्तरीय प्रारम्भिक बालशिक्षा विषयक सम्मेलनको शुभारम्भ

हेटौँडा । सामुदायिक विद्यालयमा भौतिक पूर्वाधार पर्याप्त हुँदाहुँदै पनि विद्यार्थी संख्या घट्दै जानु गम्भीर चुनौतीका रूपमा देखा परेको छ। हेटौँडामा सुरु भएको दुईदिने बागमती प्रादेशिक सम्मेलनमा वक्ताहरूले यही विषयलाई मुख्य चिन्ताका रूपमा उठाएका छन्।

रातो बङ्गला फाउन्डेसनको आयोजनामा भएको ‘गुणस्तरीय प्रारम्भिक बालशिक्षा किन र कसरी’ विषयक सम्मेलनको उद्घाटन गर्दै हेटौँडा उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामाले सरकारी लगानी र कार्यक्रम हुँदाहुँदै पनि अभिभावकको विश्वास अझै संस्थागत विद्यालयतर्फ केन्द्रित रहेको बताइन् ।

प्रारम्भिक बालविकास शिक्षाको आधारस्तम्भ भएको उल्लेख गर्दै मेयर लामाले यही चरणले भावी दक्ष जनशक्ति उत्पादनको दिशा तय गर्ने बताइन् । उनले शिक्षा सिपमुखी, आयमुखी र बालमैत्री हुनुपर्नेमा जोड दिँदै सिकाइ प्रक्रियालाई बोझरहित र व्यवहारिक बनाउन आवश्यक रहको धारणा राख्नुभयो। उपमहानगरपालिकाले सामुदायिक विद्यालयसँग सहकार्य गर्दै गुणस्तर सुधारका लागि आवश्यक सहयोग गर्न प्रतिबद्ध रहेको उनको भनाइ थियो।

सम्मेलनमा सहभागी शिक्षकहरूप्रति सम्मान व्यक्त गर्दै मेयर लामाले सानो लापरबाहीले पनि दीर्घकालीन असर पार्न सक्ने भएकाले शिक्षकको भूमिका अत्यन्त जिम्मेवार हुने बताइन् । उनले देशको भविष्य निर्माण शिक्षककै हातमा रहेको उल्लेख गरिन।

उद्घाटन सत्रमा ‘प्रारम्भिक बालशिक्षाको वर्तमान अवस्था’ विषयमा प्यानल छलफल गरिएको थियो। रातो बङ्गला फाउन्डेसनकी कार्यकारी निर्देशक एलिसना सुब्बाको सहजीकरणमा भएको छलफलमा शिक्षाविद्, विद्यालय प्रमुख तथा शिक्षण संस्थाका प्रतिनिधिहरूले प्रारम्भिक बालशिक्षामा देखिएका चुनौती र सम्भावनाबारे धारणा राखेका थिए।

सम्मेलनका क्रममा ११ वटा बालकेन्द्रित अभ्यास सञ्चालन गरिने जानकारी दिँदै फाउन्डेसनकी अध्यक्ष शान्ता दीक्षितले गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने मुख्य आधार कक्षाकोठा नै भएको बताइन् । स्थानीय तथा राष्ट्रिय अनुभव आदान–प्रदान, प्रभावकारी शिक्षण विधि, संघीय संरचनामा शिक्षा प्रणाली सुदृढीकरण र विद्यालयलाई व्यवहारिक रूपमा बालमैत्री बनाउने अभ्यास साझा गर्नु सम्मेलनको उद्देश्य रहेको उनले स्पष्ट पारिन।

बागमती प्रदेशका १३ जिल्लाबाट २५० भन्दा बढी शिक्षक, विद्यालय व्यवस्थापक, स्थानीय सरकारका प्रतिनिधि, शिक्षा विज्ञ तथा सरोकारवालाको सहभागिता रहने सम्मेलनले प्रारम्भिक बालशिक्षाको सुधारमा महत्वपूर्ण योगदान गर्ने अपेक्षा गरिएको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan