हेटौंडा । मकवानपुर प्रहरीले २ किलो लागूऔषध अफिमसहित दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शुक्रबार दिउँसो करिब १:३० बजे हेटौंडा–११ थानाभर्याङस्थित सडकमा शंकास्पद रूपमा गुडिरहेको ना.४५ प.६४१८ नम्बरको पल्सर मोटरसाइकललाई रोकि जाँच गर्ने क्रममा लागूऔषध बरामद गरिएको हो।
प्रहरीले मोटरसाइकलमा सवार राक्सिराङ गाउँपालिका–४ निवासी २८ वर्षीय रबिन्द्र सिन्तान र सोही स्थानका ३६ वर्षीय रामबहादुर डिम्डुङलाई नियन्त्रणमा लिई खानतलासी गर्दा उनीहरूको साथबाट २ किलो प्रतिबन्धित लागूऔषध अफिम फेला परेको जनाएको छ।
बरामद गरिएको लागूऔषध र मोटरसाइकल जफत गरी पक्राउ परेका दुवै जनालाई मकवानपुर जिल्ला अदालत, हेटौंडाबाट म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
केही प्रतिक्रिया छ कि ?



