Search
Close this search box.

दलित समुदायको शिक्षामा पहुँचबारे नीति तथा बजेटमाथि अन्तरक्रिया


हेटौंडा । बागमती प्रदेश सरकारको वार्षिक नीति, कार्यक्रम तथा बजेटमा दलित समुदायको शिक्षामा पहुँचसम्बन्धी विषयमा सरोकारवालासँग समिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। बुधबार दलित महिला संघ (फेडो) को आयोजनामा कार्यक्रम सम्पन्न भएको हो।

संघकी उपाध्यक्ष सुनिता दर्नालको सभाअध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षा विकास निर्देशनालयका महानिर्देशक गोपाल प्रसाद कँडेल प्रमुख अतिथिका रूपमा सहभागी थिए।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि कँडेलले दलित समुदायको शिक्षामा पहुँच विस्तारमा पहिलेको तुलनामा सुधार हुँदै गएको बताए। उनले विगतमा दलित भएकै कारण हेपिनुपर्ने अवस्था रहे पनि अहिले त्यस्तो अवस्था कम हुँदै गएको उल्लेख गरे। यद्यपि छात्रवृत्ति कार्यक्रम पर्याप्त नभएको स्वीकार गर्दै यसलाई थप प्रभावकारी बनाउन आवश्यक रहेको उनको भनाइ थियो। केही कमजोरी भए पनि समग्रमा शिक्षा क्षेत्रमा सकारात्मक परिवर्तन भइरहेको उनले बताए।

कार्यक्रममा प्रदेश बाल अधिकार समितिका सदस्य प्रकाश खतिवडाले प्रस्तुतीकरण दिएका थिए। उनले विपन्न दलित सशक्तीकरण कार्यविधि २०८०, बागमती प्रदेश शिक्षा नीति २०८०, नीति कार्यान्वयन तथा मूल्यांकनका संस्थागत तथा कानुनी व्यवस्था, शैक्षिक छात्रवृत्ति निर्देशिका २०७८ लगायतका विषयमा प्रकाश पारे। साथै शिक्षामा देखिएका समस्या, दलित वर्ग लक्षित नीति तथा कार्यक्रमको आवश्यकता, वर्तमान नीति तथा कार्यक्रमको अवस्था, सरोकारवालाको भूमिका तथा दलित समुदायको समावेश बिना समग्र विकास असम्भव रहेको विषयमा प्रस्तुति दिएका थिए।

स्वागत मन्तव्य राख्दै संघकी कोषाध्यक्ष गोमा सुनारले दलित महिला संघ (फेडो) २०५१ साल श्रावण १२ गते (सन् १९९४ जुलाई २८) मा स्थापना भएको नेपालकै पहिलो राष्ट्रियस्तरको गैरसरकारी संस्था रहेको जानकारी दिइन्। उनले जातीय भेदभाव, छुवाछुत, लैङ्गिक तथा वर्गीय विभेदको तेहोरो शोषणमा परेका दलित महिलाहरूको न्याय, समानता र मानव अधिकारका लागि संघ विगत ३० वर्षदेखि निरन्तर क्रियाशील रहेको बताइन्।

संघले दलित महिलाहरूलाई संगठित, सचेत र सशक्त बनाउँदै विकासको मूलप्रवाहमा समावेश गराउन विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको उनले उल्लेख गरिन्। साथै लैङ्गिक विभेद, जातीय भेदभाव, सामाजिक न्याय, समानता र मर्यादित जीवनको पक्षमा संघले सशक्त वकालत गर्दै आएको बताइन्। हाल संघको संरचना ७७ वटै जिल्लामा विस्तार भइसकेको छ।

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश अधिकृत जयशोर चापागाईं, गैरसरकारी संस्था महासंघ मकवानपुरका जिल्ला अध्यक्ष रमिला सापकोटा, सुनौलो शिक्षा नेपालका अध्यक्ष आशिष दुलाल, सामुदायिक विद्यालयका प्रधानाध्यापक, शिक्षक, दलित अभियन्तालगायतको उपस्थिति रहेको थियो।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan