Search
Close this search box.

नवसर्जक केन्द्रित सप्ताहव्यापी गजल लेखन प्रशिक्षण सम्पन्न

हेटौँडा । गजल मञ्च मकवानपुरद्वारा आयोजित नवसर्जक केन्द्रित सप्ताहव्यापी गजल लेखन प्रशिक्षण कार्यक्रमको पहिलो चरण सफलतापूर्वक सम्पन्न भएको छ। माघ २१ देखि २८ गतेसम्म सञ्चालन गरिएको उक्त कार्यक्रमअन्तर्गत जिल्लाका विभिन्न नौ वटा विद्यालयका कक्षा ११–१२ मा अध्ययनरत करिब ३५० जना विद्यार्थीहरूको सहभागिता रहेको थियो।

कार्यक्रम श्री भानु मा.वि. (मक्रानचुली), चण्डिका मा.वि. (गढी), महेन्द्र मा.वि. (पदमपोखरी), शारदा मा.वि. (आमभञ्ज्याङ्ग), चन्द्रोदय मा.वि. (हेटौँडा–८), जनप्रिय मा.वि. (हेटौँडा–१६), बंशगोपाल मा.वि. (हेटौँडा–६), ज्योति मा.वि. (हेटौँडा–७) र भुटनदेवी मा.वि. (हेटौँडा–४) मा सञ्चालन गरिएको थियो।

कार्यक्रमको प्रमुख संयोजन मञ्चका पूर्व अध्यक्ष मुस्कान तिमल्सिना र राम कार्कीले गर्नुभएको थियो। प्रशिक्षण सत्रमा गजलकार विश्वनाथ सञ्जेल, सुनिल गौतम, मञ्चका सल्लाहकार पुरुषोत्तम आचार्य तथा मञ्चका अध्यक्ष संजित श्रेष्ठले सहजीकरण गर्नुभएको थियो।

प्रशिक्षणका क्रममा सहभागी विद्यार्थीहरूलाई गजल प्रशिक्षण डायरी वितरण गरिएको थियो। साथै गजलको मूलभूत सिद्धान्त, संरचना, छन्द, बहर तथा प्रयोगात्मक लेखन अभ्याससम्बन्धी विस्तृत जानकारी प्रदान गरिएको थियो।

मञ्चका अनुसार यस कार्यक्रमले नवसर्जकहरूमा गजलप्रति रुचि अभिवृद्धि गर्नुका साथै गजल विधाको उन्नयन र विकासमा सकारात्मक टेवा पुग्ने विश्वास लिइएको छ। मञ्चले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउने प्रशिक्षक, सम्बन्धित विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा सहभागी विद्यार्थीहरूप्रति मञ्चले आभार व्यक्त गरेको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan