Search
Close this search box.

हेटौंडा बाल सुधारगृहमा क्षमता भन्दा झन्डै तेब्बर बालक


हेटौंडा । हेटौंडा–११ थानाभर्याङस्थित बाल सुधारगृहमा क्षमता भन्दा झन्डै तेब्बर बालक राखिएको छ। ३० जनाको क्षमता रहेको सुधारगृहमा हाल ९२ जना बालक राखिएको बालगृह प्रमुख प्रदीप गौतमले जानकारी दिएका छन् । विभिन्न आपराधिक घटनामा दोषी ठहर भएका तथा पुर्पक्षमा रहेका बालबालिकालाई राखिँदै आएको उक्त सुधारगृहमा भीडभाडका कारण बालअधिकार नै प्रभावित हुने अवस्था सिर्जना भएको छ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको मातहतमा २०७५ सालदेखि सञ्चालनमा आएको सुधारगृह चितवन र मकवानपुरका बालकलाई लक्षित गरी स्थापना गरिएको थियो। तर अन्य जिल्लाबाट समेत बालक ल्याइन थालेपछि क्षमता भन्दा धेरैलाई राख्नुपरेको प्रमुख गौतमको भनाइ छ। विशेषगरी भक्तपुरस्थित सुधारगृहमा ‘जेनजी आन्दोलन’ पछि तोडफोड भई सञ्चालनमा समस्या आएपछि त्यहाँका बालकसमेत हेटौंडा सारिएको बताइएको छ। वीरगञ्ज र विराटनगरका सुधारगृहमा पनि क्षमता भन्दा बढी बालक रहेकाले इलामदेखि तेह्रथुमसम्मका बालक हेटौंडा पठाइएको जनाइएको छ।

सुधारगृहमा हाल १४ देखि २३ वर्ष उमेर समूहका बालक रहेका छन्। तीमध्ये १८ वर्ष नाघेका २९ जना रहेका छन्। कानुनी रूपमा १८ वर्षमाथिका लागि छुट्टै व्यवस्था आवश्यक भए पनि स्थान अभावका कारण छुट्टै राख्न नसकिएको प्रमुख गौतमले बताए । १६ देखि १८ वर्ष उमेर समूहका बालक सबैभन्दा बढी रहेका छन् भने १४ देखि १६ वर्ष उमेर समूहका बालकहरूमा यौन दुर्व्यवहारसम्बन्धी मुद्दा बढी रहेको जानकारी दिइएको छ।

अत्यधिक भीडका कारण बालकहरूलाई सुत्न समेत समस्या भएको छ। बेड अभाव भएपछि भुइँमै सुत्न बाध्य छन्। संख्या यस्तै बढ्दै गए भित्र अट्न नसकी बरन्डामा वा पालैपालो सुत्नुपर्ने अवस्था आउन सक्ने चेतावनी सुधारगृह प्रशासनले दिएको छ। “बालकैदी लिन नमान्दा पनि जबर्जस्ती पठाइन्छ,” प्रमुख गौतमले भने, “सरकारी निकायले पर्याप्त व्यवस्थापन नगर्दा समस्या झन् जटिल बन्दै गएको छ।”

सुधारगृहमा शिक्षा व्यवस्थापन पनि प्रभावकारी हुन सकेको छैन। आफैं पढेर परीक्षा दिन मिल्ने व्यवस्था भए पनि नियमित कक्षा सञ्चालन हुन सकेको छैन। पढ्न नजान्ने बालकलाई अक्षर चिनाउने काम भने भइरहेको जनाइएको छ। एक समय विद्यालय संख्या बढाउने भन्दै मन्त्रालयबाट पुस्तक खरिदका लागि बजेट पठाइएको भए पनि कार्यक्रम अधुरै छोडिएको आरोप छ।

सुधारगृहभित्र दुर्व्यवहारको आशंका पनि उठेको छ। ठूलो प्रकृतिको घटना बाहिर नआए पनि आन्तरिक रूपमा समस्या सुनिने गरेको स्रोतको भनाइ छ। यद्यपि कुनै विवाद भए आपसी मेलमिलापमार्फत उनिहरु आफै समाधान गर्ने गरिएको प्रमुख गौतमले दाबी गरे ।

समयमै मुद्दा फैसला नहुँदा पनि सुधारगृहमा बालकको संख्या बढ्दै गएको बताइएको छ। सरकारले सुधारगृहको संख्या बढाउने वा भएका संरचना विस्तार गर्ने बाहेक अन्य विकल्प नरहेको भनाइ छ। भक्तपुरमा सुधारगृह पुनः सञ्चालन नभए संख्या एक सय नाघ्ने अवस्था देखिएको प्रशासनको आँकलन छ।

किताब बोक्ने उमेरमा कैदी जीवन बिताइरहेका बालकहरू आधारभूत सुविधा र शिक्षाबाट वञ्चित हुनुपरेको यो अवस्था सुधारका लागि सरकारको ध्यानाकर्षण गराइएको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan