हेटौंडा । नेपाली कांग्रेसले मकवानपुरको बकैया गाउँपालिका–३ तथा बागमती गाउँपालिका–१ र ८ मा निर्वाचन सम्पर्क कार्यालय स्थापना तथा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा नेपाली कांग्रेसका निवर्तमान सहमहामन्त्री एवं प्रतिनिधि सभा निर्वाचन मकवानपुर क्षेत्र नम्बर १ का उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाले जनतासँग बसेर काम गर्ने सङ्कल्पका साथ आफू चुनावी मैदानमा उत्रिएको बताइन् ।
उनले अन्यायका विरुद्ध सडक आन्दोलनमा सक्रिय महिला नेतृका रूपमा आफ्नो पहिचान स्मरण गराउँदै भनिन् , “नयाँ भन्ने हौव्वा मात्र हो, एक पटक लहर आउँछ र फेरि हराएर जान्छ। तर जनताको माझमा टिकिरहने पार्टी कांग्रेस हो। कांग्रेस बदलिएर र फेरिएर आएको छ। देशको अवस्था बदल्ने, विकास गर्ने र जनताको जीवनस्तर उकास्ने प्रतिबद्धतासहित हामी निर्वाचनमा आएका छौं।”
विगतको मत संरक्षण गर्दै थप मत कांग्रेसको पक्षमा ल्याउन आग्रह गर्दै उनले विशेष गरी महिला दिदीबहिनीहरूलाई सक्रिय भूमिका निर्वाह गर्न अपिल गरिन। “निर्वाचित भएपछि सम्पूर्ण महिलाको पक्षमा काम गर्ने छु,” उनले भनिन् ।
उनले आदिवासी जनजाति समुदायको अधिकार सुनिश्चित गर्न संविधान निर्माणमा आफ्नो योगदान रहेको उल्लेख गर्दै संविधानको रक्षा र कार्यान्वयनमा दृढतापूर्वक लाग्ने प्रतिबद्धता जनाइन् । गाउँघरमा पुगेर जनताका समस्या बुझी समाधान गर्ने बचनबद्धता व्यक्त गर्दै नागरिकसमक्ष आफ्ना प्रतिबद्धता पुर्याइदिन आग्रह गरिन।
युवाहरू रोजगारीका लागि विदेश पलायन भइरहेको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै उहाँले देशभित्रै रोजगारी सिर्जना गर्ने वातावरण बनाउनुपर्ने बताइन् । “विदेश जानैपरे दक्ष बनाएर पठाउनुपर्छ, नत्र देशमै अवसर सिर्जना गर्नुपर्छ,” उनले बनिन् । निर्वाचित भएपछि महिला तथा युवालाई लक्षित गरी ‘एक पालिका एक सीप केन्द्र’ स्थापना गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरिन।
कार्यक्रममा ईन्द्रबहादुर बानियाँले संविधानले राज्यका तीनै तहमा महिलाको अधिकार सुनिश्चित गरेको उल्लेख गरिन। स्थानीय, प्रदेश र संघीय सरकारमा महिलाको प्रतिनिधित्व तथा नीति निर्माणमा पहुँच वृद्धि भएको उनको भनाइ थियो।
बागमती गाउँपालिका–८ मा वडा सभापति पूर्णबहादुर घलानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला निर्वाचन परिचालन समितिका सदस्य रीता खनाल, जिल्ला सहसचिव ईन्दिरा न्यौपाने, जिल्ला प्रतिनिधि क्षितिज राना मगरलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
यस्तै, बागमती गाउँपालिका–१ मा वडा एकाइ सभापति सन्जय राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रीता खनाल, ईन्दिरा न्यौपाने, जिल्ला प्रतिनिधि भक्तबहादुर राई तथा महासमिति सदस्य उर्मिला पुलामीले धारणा राखे। सो अवसरमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का टोल कमिटी अध्यक्ष अर्जुन राईलगायत कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका थिए।
बकैया गाउँपालिका–३ मा वडा सभापति सन्जीव लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला निर्वाचन परिचालन समितिका सदस्य रीता खनाल, जिल्ला सचिव भीमसेन महत, जिल्ला सहसचिव ईन्दिरा न्यौपाने, क्षेत्र नम्बर १ का संघीय सभापति दामोदर गौतम, जिल्ला प्रतिनिधि भूमिनन्द गौतम तथा बकैया गाउँपालिका समितिका सभापति दिलबहादुर भोम्जनलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कांग्रेसले जनताको मन जित्दै विकास र समृद्धिको एजेन्डासहित चुनावी अभियानलाई तीव्र बनाएको जनाएको छ।


