Search
Close this search box.

हेटौंडामा दुर्गा प्रसाई पक्राउको विरोध हुन लागेको मसाल जुलुस प्रहरीले रोक्यो

हेटौंडा । हेटौंडामा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईलाई प्रहरीले नियन्त्रणमा लिएको विरोधमा निकाल्न लागिएको मसाल जुलुस प्रहरीले रोकेको छ।

मंगलबार साँझ करिब ७ बजे हेटौंडा–४ स्थित रजतजयन्ती चोकबाट मसाल जुलुस निकाल्ने तयारी भइरहेका बेला प्रहरीले जुलुसका लागि तयार पारिएका सामग्री जफत गरेको हो।

प्रहरीले प्रसाईलाई अपहरण शैलीमा पक्राउ गरेको आरोप लगाउँदै प्रहरी प्रशासनविरुद्ध र्‍याली निकाल्न लागिएको सहभागीहरूले बताएका छन्। जुलुसका सामग्री नियन्त्रणमा लिएपछि प्रदर्शनकारीहरूले प्रहरी दमन मुर्दावाद भन्दै नाराबाजी गरेका थिए।

मकवानपुर जिल्ला संयोजक रमेश ठकुरीको नेतृत्वमा करिब २० जनाको उपस्थितिमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ मकवानपुर कार्यालयबाट मसाल जुलुस निकाल्ने तयारी गरिएको थियो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) श्यामबहादुर खत्री र प्रहरी नायब उपरीक्षक (डीएसपी) पुष्कर बोगटीसहितको बाक्लो प्रहरी टोलीले कार्यालय बाहिरबाटै जुलुसका सामग्री नियन्त्रणमा लिएको हो।

एसपी खत्रीले अनुमति बिना र्‍याली–जुलुस निकाल्न नदिइने र जबर्जस्ती गरे नियन्त्रणमा लिइने चेतावनी दिएका छन्। प्रहरी प्रशासनले जुलुस ननिकाल्न अनुरोध गरेको जनाएको छ।

यसैबीच, अभियानका मकवानपुर जिल्ला संयोजक रमेश ठकुरीले भोलि बुधबारदेखि शान्तिपूर्ण र्‍याली निकाल्ने जानकारी दिएका छन्।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan