हेटौंडा । इन्द्रबहादुर बानियाँले लोकतन्त्रलाई व्यवस्थित र सुदृढ बनाउन निर्वाचन आचारसंहिताको पूर्ण पालना अनिवार्य रहेको बताएका छन्। मंगलबार हेटौंडामा आयोजित “निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन र सरोकारवालाको भूमिका” विषयक प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित बनाउन सबै पक्ष जिम्मेवार हुनुपर्ने धारणा राखे।
मुख्यमन्त्री तथा कांग्रेस बागमती प्रदेश सभापतिको हैसियतमा आफूले गर्न मिल्ने र नमिल्ने कामबारे निर्वाचन आयोग नेपालबाट अनुमति लिइसकेको स्पष्ट पार्दै बानियाँले निर्वाचनका बेला कानुनी सीमाभित्र रहेर गतिविधि सञ्चालन गर्नुपर्ने बताए। मतदानलाई भयरहित वातावरणमा सम्पन्न गराउनु सुरक्षा निकायको दायित्व भएको उल्लेख गर्दै उनले निर्वाचन चाहने र नचाहने पक्षबीच द्वन्द्व देखिएको र अराजक गतिविधि हुन सक्ने संकेतसमेत गरे।
निर्वाचन सफल बनाउन आयोग, तीनै तहका सरकार, कर्मचारी संयन्त्र र सुरक्षा निकायबीच प्रभावकारी समन्वय र सहकार्य अपरिहार्य रहेको उनको भनाइ थियो।
कार्यक्रममा निर्वाचन आयुक्त सगुन शमशेर जबराले आचारसंहिताको प्रभावकारी कार्यान्वयनमै चुनौती देखिएको उल्लेख गरे। उनले आचारसंहिता सही रूपमा लागू भए लोकतन्त्र थप बलियो हुने बताउँदै उल्लङ्घनका घटनामा स्पष्टिकरण सोध्नु पनि कारबाहीको प्रक्रिया भएको जानकारी दिए। उम्मेदवारी नै रद्द हुने खालका गतिविधि भए कडाइका साथ प्रस्तुत हुने चेतावनीसमेत उनले दिए।
अन्तरक्रियामा निर्वाचन आचारसंहिताका प्रमुख विषय र सरोकारवालाको भूमिकाबारे आयोगका सहसचिव राजेन्द्र केसी तथा प्रतिनिधिसभा सदस्य निर्वाचन खर्च र प्रचार–प्रसारसम्बन्धी विषयमा मधेश प्रदेशका पूर्व मुख्य न्यायाधिवक्ता सुरेन्द्रकुमार महतोले प्रस्तुतीकरण गरेका थिए।
कार्यक्रममा मकवानपुर र चितवनका प्रमुख जिल्ला अधिकारी, निर्वाचन अधिकृत, बागमती प्रदेशका चारवटै सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका प्रतिनिधि, पर्यवेक्षक संस्था, गैरसरकारी संस्था, कानून व्यवसायी तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।
आयोगका अनुसार फागुन २१ गते हुने निर्वाचनका लागि अन्तर्राष्ट्रिय ४ र आन्तरिक ३७ गरी कुल ४१ संस्थाले चुनावी पर्यवेक्षणको अनुमति पाएका छन्। सातै प्रदेशमा सञ्चालन हुने उक्त कार्यक्रम हालसम्म लुम्बिनी, मधेश, गण्डकी र बागमती प्रदेशमा सम्पन्न भइसकेको छ।

