प्रलोपाले बुद्धचोकबाट घरदैलो अभियान सुरु, आचारसंहिता पालना गर्दै सरल प्रचार गर्ने प्रतिबद्धता
मकवानपुर। प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) मकवानपुरले आफ्नो निर्वाचन नाराहरु सार्वजनिक गर्दै आजबाट कोणसभा तथा पार्टीको झण्डासहित मतदाताको घरदैलो कार्यक्रम औपचारिक रुपमा बुद्धचोकबाट सुरु गरेको छ।
बुद्धचोकमा ¥यालीको आयोजना गर्दै मकवानपुर क्षेत्र नम्बर १ का उम्मेदवार तेजप्रसाद उप्रेती (रमेश) ले अन्य दलहरुले मनोनयन दर्ताकै दिनदेखि निर्वाचन आचारसंहिता विपरीत खर्चिलो र भड्किलो प्रचार–प्रसार गरेको आरोप लगाए। उनले प्रलोपाले भने आजबाट निर्वाचन आचारसंहितालाई प्रमुख प्राथमिकतामा राखेर प्रचार अभियान अघि बढाउने बताए।
उप्रेतीका अनुसार चुनावी प्रचार अत्यन्त सरल, ध्वनि तथा भीडभाड रहित, डिजिटल प्रविधिको प्रयोगमार्फत जनमैत्री र वातावरणमैत्री ढङ्गबाट सञ्चालन गरिनेछ।
त्यस्तै, मकवानपुर क्षेत्र नम्बर २ का उम्मेदवार सन्तोष बिष्टले आसन्न निर्वाचनलाई भदौ २३ र २४ गते जेन–जी माथि भएको दमन तथा देशव्यापी अन्याय, अत्याचार र विकृतिको अन्त्य गर्ने अवसरका रुपमा लिनुपर्ने बताए। उनले सचेत र विवेकपूर्ण मतदानमार्फत सुधारको बाटो खोल्न मतदातालाई आग्रह गरे।
प्रलोपा मकवानपुरका दुबै उम्मेदवार सफल व्यवसायी तथा समाजसेवी पृष्ठभूमिका रहेको जनाइएको छ। उनीहरुले वर्षौंदेखि समाधान हुन नसकेको भूमिहीन सुकुम्बासीको समस्या, अस्तव्यस्त सडक सञ्जाल, व्यवहारिक तथा प्राविधिक शिक्षाको अभाव, विकास निर्माणमा अपारदर्शिता, महिला, दलित, आदिवासी, मधेशी तथा विपन्न वर्गमाथि सेवा र अवसरमा असमानता तथा देशव्यापी रुपमा संस्थागत भएको भ्रष्टाचार अन्त्यजस्ता मुद्दालाई प्राथमिकताका साथ उठाएका छन्।
प्रलोपा मकवानपुरले आचारसंहिताको पूर्ण पालना गर्दै स्वच्छ, सरल र मुद्दाकेन्द्रित चुनावी अभियान सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।

