Search
Close this search box.

हेटौंडामा २५ गज सडक विस्तार विवाद: मुख्यमन्त्री बानियाँको १६ मिटरमै अडान, बाइपासलाई प्राथमिकता

हेटौंडा। इन्द्रबहादुर बानियाँले हेटौंडामा प्रस्तावित २५ गज सडक विस्तारको विषयमा आफू पहिलेदेखि नै १६ मिटर सडक कायम गर्नुपर्ने पक्षमा रहेको दोहोर्‍याएका छन् ।

शुक्रबार हेटौंडामा सडक विस्तारबाट प्रभावित घरधनी तथा व्यवसायीहरूसँग आयोजित अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री बानियाँले विगतमा डोरमणि पौडेल नेतृत्वको सरकारका बेला प्रतिपक्षमै रहँदा पनि १६ मिटरको विकल्प अघि सारेको उल्लेख गरे।

उनले बजार क्षेत्रभित्र सडक चौडा पार्नुभन्दा बाइपास सडक निर्माणलाई प्राथमिकता दिनुपर्ने धारणा राख्दै स्थानीयवासीका समस्या सुन्न आफू तयार रहेको बताए। बाइपास सडक प्राविधिक रूपमा निर्माण गर्न सक्ने क्षमता आफूसँग रहेको दाबी गर्दै भविष्यमा निर्माण गरेरै देखाउने प्रतिबद्धता व्यक्त गरे।

मुख्यमन्त्री बानियाँले दलिय सरकारका पालामा जनताको सम्पत्ति जोगाइएको दाबी गर्दै निर्वाचनमुखी सरकारले अधिकारको सीमाभन्दा बाहिर गएर सडक विस्तार गरेको आरोप लगाए। “राज्य कठोर हुन सक्छ, तर निर्दयी हुन पाइँदैन,” भन्दै उनले उचित वैकल्पिक व्यवस्था नगरी संरचना भत्काइएकोप्रति आपत्ति जनाए।

अन्तरक्रिया कार्यक्रममा सहभागी प्रभावितहरूले उचित मुआब्जा, कानुनी समाधान र न्यायोचित क्षतिपूर्तिको माग गरेका थिए। कान्तिलोकपथ प्रभावित गहन खतिवडाले विकासका नाममा जनतालाई उठिबास गराउन नहुने धारणा राख्दै डोजर प्रयोगप्रति असन्तुष्टि जनाए।

समिति संयोजक राजकुमार न्यौपानेले लामो समयदेखि पीडितहरूको समस्या सम्बोधन नभएको गुनासो गर्दै केन्द्र सरकारसँग समन्वय गरेर दीर्घकालीन समाधान खोज्न प्रदेश सरकारको ध्यानाकर्षण गराए।

कार्यक्रममा प्रदेशसभा सदस्य एकालाल श्रेष्ठ र लक्ष्मी श्रेष्ठ, उद्योग वाणिज्य संघ मकवानपुरका अध्यक्ष प्रमोदसिंह रानाभाट तथा नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीलगायतको सहभागिता रहेको थियो।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan