Search
Close this search box.

मकवानपुरमा स्कारपियो दुर्घटना हुँदा चालकसहित ४ जना घाइते

मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरा बेसीस्थित कुलेखानी–फाखेल–काठमाण्डौ सडकखण्डमा आज बिहानै स्कारपियो दुर्घटना हुँदा चालकसहित ४ जना घाइते भएका छन्।

बिहान करिब ६ बजे बिरगंजबाट काठमाण्डौतर्फ जाँदै गरेको ना ४ च ९७७७ नम्बरको स्कारपियो गाडी चालक निदाउँदा अनियन्त्रित भई सडकबाट करिब ३० मिटर तल शाखा बाटोतर्फ खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटनाको खबर बिहान ६:३० बजे प्राप्त हुनासाथ प्रहरी चौकी फाखेल मकवानपुरबाट प्रहरी सहायक निरीक्षक कमल खत्रीको कमाण्डमा ५ जनाको टोली घटनास्थलमा खटिएको थियो। स्थानीयको सहयोगमा घाइतेहरूको उद्धार गरी उपचारका लागि एम्बुलेन्समार्फत काठमाण्डौ पठाइएको प्रहरीले जनाएको छ।

घाइते हुनेमा स्कारपियो चालक जिल्ला बाराको कलैया उपमहानगरपालिका–२ बस्ने वर्ष ३८ का विजय यादव रहेका छन्। उनको हात र खुट्टामा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

यस्तै, सवारी धनी बाराको कलैया उपमहानगरपालिका–७ बरेवा बस्ने वर्ष ५० का सन्तोष कुमार गुप्ताको छातीमा भित्री चोट लागेको छ भने अवस्था मध्यम छ। उनकी श्रीमती वर्ष ४० की शोभा गुप्ताको कम्मर र टाउकोमा चोट लागेकाले अवस्था गम्भीर रहेको छ। त्यस्तै, उनका छोरा वर्ष १६ का अनमोल गुप्ताको दाहिने खुट्टामा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

दुर्घटनाग्रस्त स्कारपियो गाडी घटनास्थलमै रहेको छ। दुर्घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan