Search
Close this search box.

हेटौंडामा बालेन र रवि आगमनको तयारी, हुप्राचौरमा भव्य स्टेज


हेटौंडा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको सन्दर्भमा चुनावी माहोल तातेका बेला हेटौंडामा भोलि हुने चुनावी सभालाई लिएर व्यापक तयारी गरिएको छ।

बालेन्द्र शाह ‘बालेन’ र रवि लामिछाने सोमबार चुनावी प्रचार कार्यक्रममा सहभागी हुन हेटौंडा–४ स्थित हुप्राचौर आउने भएपछि आइतबारदेखि नै भव्य स्टेज निर्माण, साउन्ड सिस्टम जडान र सजावटको काम तीव्र गतिमा अघि बढाइएको छ।

चितवन–२ बाट उम्मेदवार रहेका रवि लामिछाने र झापा–५ बाट उम्मेदवारी दिएका बालेन्द्र शाहको संयुक्त उपस्थितिले कार्यक्रम विशेष बन्ने आयोजकहरूको दाबी छ। दुवै नेताको आगमनलाई लक्षित गर्दै हुप्राचौर क्षेत्रमा ठूलो संख्यामा सर्वसाधारण सहभागी हुने अनुमान गरिएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका क्षेत्रीय सभापति सुरेश थापाका अनुसार, “रवि र बालेन आउने उत्साहमा जनताले स्वस्फूर्त रूपमा स्वागतको तयारी गरेका छन्। स्टेज सजावटदेखि व्यवस्थापनसम्म सबैको सहयोगमा भव्य कार्यक्रम गर्ने तयारी गरिएको छ।”

उनका अनुसार बालकदेखि वृद्धसम्मको उपस्थितिलाई ध्यानमा राख्दै कार्यक्रमस्थलमा चरणबद्ध व्यवस्थापन गरिने योजना बनाइएको छ।

हेटौंडामा पछिल्लो समय राजनीतिक गतिविधि बढ्दै गएको अवस्थामा बालेन–रवि उपस्थितिले चुनावी सरगर्मी थप बढ्ने अनुमान गरिएको छ। स्थानीयस्तरमा देखिएको तामझाम र तयारीले कार्यक्रमलाई चासोको विषय बनाएको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan