Search
Close this search box.

हेटौंडामा रवि लामिछानेको घोषणा; “फागुन २१ पछि पाँच वर्ष स्थायी सरकार, २०४६ पछिका सबै काण्ड छानबिन”

हेटौंडा। रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गतेको निर्वाचनपछि पाँच वर्षसम्म स्थायी सरकार सञ्चालन गर्ने दाबी गरेको छ।

हेटौंडाको हुप्राचौरमा सोमबार आयोजित परिवर्तनको उद्घोष सभालाई सम्बोधन गर्दै पार्टी सभापति लामिछानेले देशलाई कानूनी राज्यका रूपमा स्थापित गर्न रास्वपा प्रतिबद्ध रहेको बताउनुभयो । सरकार गठन भएमा विसं २०४६ सालपछि भएका सबै प्रमुख काण्डहरूको निष्पक्ष छानबिन गरिने उहाँको भनाइ थियो।

उहाँले देशमा सुशासन कायम गर्न र ठूला भ्रष्टाचार प्रकरणहरूको फाइल खोल्न रास्वपाको नेतृत्व आवश्यक रहेको उल्लेख गर्नुभयो । “निर्णय गर्ने दिन फागुन २१ गते नै हो। जनताको मतले नै देशको भविष्य निर्धारण गर्छ,” उहाँले भन्नुभयो, “रास्वपा सरकार बने निष्पक्ष रूपमा सबै प्रकरणको अनुसन्धान हुन्छ।”

लामिछानेले जेन–जी आन्दोलनका क्रममा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा निवासमा जलेको भनिएको पैसाबारे समेत अनुसन्धान आवश्यक रहेको बताउनुभयो। उक्त घटनालाई गम्भीर रूपमा लिनुपर्ने र पैसाको स्रोत खोजिनुपर्ने उहाँको धारणा थियो।

निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न तथा मतपरिणाम स्वीकार गर्न उहाँले सबै राजनीतिक दललाई आग्रह गर्नुभयो । निर्वाचन स्थगित गर्न विभिन्न बहाना बनाइने प्रयास भइरहेको आरोप लगाउँदै उहाँले लोकतन्त्रमा मतदान सबैभन्दा महत्वपूर्ण कुरा भएको बताउनुभयो ।

निर्धारित समयभन्दा झण्डै साढे तीन घण्टा ढिलो सभामा उपस्थित भएका लामिछानेले “नेपाली जनताले विगतमा धेरै मतदान गरिसके, अब मत क्रान्ति गर्नुपर्ने बेला आएको छ,” भन्दै फागुन २१ लाई निर्णायक दिनका रूपमा चित्रण गर्नुभयो। उहाँले परिणाम रास्वपालाई स्वीकार्य हुने उल्लेख गर्दै लोकतन्त्रको “महान उत्सव” मा सहभागी हुन सबै दललाई आह्वान गर्नुभयो ।

कार्यक्रममा पार्टीका सहप्रवक्ता रमेश प्रसाईंले वर्तमान निर्वाचनपछि केपी शर्मा ओली को धरौटी जफत हुने दाबी गर्नुभयो ।

त्यसैगरी मकवानपुर क्षेत्र नम्बर–१ का उम्मेदवार प्रकाश गौतम र क्षेत्र नम्बर–२ का उम्मेदवार प्रशान्त उप्रेतीले आफूहरू निर्वाचित भए स्थानीय समस्याको समाधानलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाउनुभयो।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan