हेटौंडा । आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मकवानपुरमा व्यापक तयारी गरिएको छ। जिल्लाभरका ३७४ मतदान केन्द्रमा स्वयंसेवकसहित तीन हजार ३६६ जना कर्मचारी परिचालन गरिने भएको छ।
बागमती प्रदेश निर्वाचन कार्यालय हेटौंडाका प्रदेश निर्वाचन अधिकारी हरिप्रसाद ढकालका अनुसार प्रत्येक मतदान केन्द्रमा निर्वाचन आयोगबाट ६ जना कर्मचारी र मतदान स्थलमा ३ जना स्वयंसेवक खटाइनेछन्। निर्वाचन अवधिभर कार्यालयबाट खटिने २ हजार २४४ जना र केन्द्रमै नियुक्त हुने १ हजार १२२ जना स्वयंसेवक परिचालन हुनेछन्।
निर्वाचनको संवेदनशीलता र आवश्यकताका आधारमा अतिरिक्त निर्वाचन प्रहरीसमेत परिचालन गरिने जनाइएको छ। प्रशासनले सुरक्षा व्यवस्थालाई प्राथमिकतामा राख्दै सम्पूर्ण संयन्त्र सक्रिय पारिएको जनाएको छ।
मकवानपुरका दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा गरी ४० वडा समेटिएको क्षेत्र नम्बर १ मा ६२ मतदान स्थल र १७८ मतदान केन्द्र रहेका छन्। त्यस्तै, ६२ वडा समेटिएको क्षेत्र नम्बर २ मा १०५ मतदान स्थल र १९६ मतदान केन्द्र निर्धारण गरिएको छ। साथै, भीमफेदी कारागार र हेटौंडामा कर्मचारीका लागि अस्थायी मतदान केन्द्र स्थापना गर्ने तयारी भइरहेको छ।
जिल्लामा कुल मतदाता संख्या तीन लाख १५ हजार ३३४ रहेको छ। क्षेत्र नम्बर १ मा एक लाख ५८ हजार ४३५ र क्षेत्र नम्बर २ मा एक लाख ५६ हजार ८९९ मतदाता रहेका छन्।
निर्वाचनका लागि आवश्यक मसी, मतपेटिका लगायत ५२ प्रकारका सामग्री व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको निर्वाचन कार्यालयले जनाएको छ। केही सामग्री जिल्ला कार्यालयमै उपलब्ध रहेको र बाँकी सामग्री आयोगमार्फत आउने क्रममा रहेको बताइएको छ।
प्रशासनले शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित रूपमा निर्वाचन सम्पन्न गर्न सबै तयारी पूरा भएको जनाएको छ।
