हेटौंडा । मकवानपुर–१ मा यसपटकको प्रतिनिधिसभा सदस्य निर्वाचनले अप्रत्याशित नतिजा दिएको छ। अघिल्लो निर्वाचनमा विजयी बनेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता दीपकबहादुर सिंह यसपटक भने जमानत जोगाउनसमेत असफल भएका छन्।
निर्वाचन परिणामअनुसार सिंहले जम्मा चार हजार ५७४ मत मात्रै प्राप्त गरे, जुन कुल सदर मतको १० प्रतिशतभन्दा कम हो। निर्वाचन कानुनअनुसार उम्मेदवारले जमानत जोगाउन कम्तीमा सदर मतको १० प्रतिशत मत ल्याउनुपर्ने व्यवस्था छ।
यस क्षेत्रमा कुल ९५ हजार ३१० मत खसेकोमा चार हजार ८०१ मत बदर भएको थियो। त्यसपछि सदर मत ९० हजार ५०९ पुगेको थियो। सो आधारमा जमानत जोगाउन कम्तीमा नौ हजार ५० मत आवश्यक पर्थ्यो। तर सिंह पाँच हजार मतको सीमा पनि पार गर्न सकेनन्।
यसपटक मकवानपुर–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश गौतम विजयी भएका छन्। नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय डिना १४ हजार मतसहित दोस्रो स्थानमा रहेकी छन्।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा भने सिंहले कांग्रेसकी डिनालाई पराजित गर्दै पहिलोपटक संसद् यात्रा तय गरेका थिए। त्यतिबेला सिंहले २७ हजार ८१६ मत प्राप्त गर्दा डिनाले २५ हजार ४३४ मत ल्याएकी थिइन्। सिंहले दुई हजार ३८२ मतान्तरले जित हात पारेका थिए।
तर यसपटक राजनीतिक समीकरण फेरिँदा सिंहको मत उल्लेखनीय रूपमा घटेको देखिएको छ। विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टीको उदयसँगै मतदाताको झुकाव बद्लिँदा सिंहको मत आधार कमजोर बनेको विश्लेषण गरिएको छ।
राजनीतिक रूपमा लामो समयदेखि मकवानपुरमा सक्रिय सिंह यसअघि पनि विभिन्न निर्वाचनमा प्रतिस्पर्धा गर्दै आएका थिए। २०५४ सालमा हेटौँडा नगरपालिकाको मेयरमा उम्मेदवारी दिएका उनी पराजित भएका थिए। त्यसपछि २०५६ सालको प्रतिनिधिसभा निर्वाचन, २०७० सालको संविधानसभा निर्वाचन तथा २०७९ वैशाखको स्थानीय तह निर्वाचनमा पनि उनले हार व्यहोरेका थिए।
मंसिर ४, २०७९ मा भएको प्रतिनिधिसभा निर्वाचनमा भने उनले अप्रत्याशित जित निकाल्दै संसद् प्रवेश गरेका थिए। तर यसपटक मत परिणाम नाटकीय रूपमा उल्टिँदा उनले आफ्नो जमानतसमेत जोगाउन सकेनन्।
यसैबीच मकवानपुरका दुवै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ उम्मेदवारी दिएका ३५ जना उम्मेदवारको जमानत जफत भएको निर्वाचन कार्यालयले जनाएको छ। मकवानपुर–१ मा १८ जना र मकवानपुर–२ मा १७ जना उम्मेदवारले सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याएपछि उनीहरूको धरौटी जफत भएको हो।


