Search
Close this search box.

मकवानपुरमा निर्वाचन सफल, समिक्षा कार्यक्रममा प्रशंसा


हेटौँडा । प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत मकवानपुर जिल्लामा सम्पन्न निर्वाचन शान्तिपूर्ण, व्यवस्थित र सफलतापूर्वक सम्पन्न भएको निष्कर्ष निकालिएको छ। प्रत्यक्ष र समानुपातिक दुबै तर्फको अन्तिम मत परिणाम सार्वजनिक भएसँगै प्रदेश निर्वाचन कार्यालयले निर्वाचन समिक्षा कार्यक्रम आयोजना गरी निर्वाचन प्रक्रियाबारे समीक्षा गरेको हो।

जिल्ला प्रशासन कार्यालय मकवानपुरको सभाहलमा बुधबार आयोजित कार्यक्रममा सहभागीहरूले राजनीतिक दल, उम्मेदवार, कर्मचारी, सुरक्षा निकाय तथा सञ्चारकर्मीबीचको सहकार्यका कारण निर्वाचन सहज रूपमा सम्पन्न भएको बताएका थिए।

कार्यक्रममा बोल्दै मुख्य निर्वाचन अधिकृत गीता श्रेष्ठले सबै पक्षबाट प्राप्त सक्रिय सहयोगले निर्वाचनलाई शान्तिपूर्ण र मितव्ययी रूपमा सम्पन्न गर्न ठूलो योगदान पुगेको बताउनुभयो। उहाँले राजनीतिक दलहरूले आचारसंहिताको पालना गरेको, सञ्चारमाध्यमहरूले जिम्मेवार समाचार सम्प्रेषण गरेको तथा कर्मचारी र सुरक्षा निकायले इमान्दारीपूर्वक जिम्मेवारी निर्वाह गरेकाले निर्वाचन व्यवस्थापन सहज भएको उल्लेख गर्नुभयो। राजनीतिक दलहरूबीच देखिएको आपसी सद्भाव र सहकार्यले पनि निर्वाचन सञ्चालनलाई थप सरल बनाएको उहाँको भनाइ थियो।

निर्वाचन अधिकृत देवेन्द्रराज आचार्यले मकवानपुरमा सम्पन्न निर्वाचन व्यवस्थापन अन्य जिल्लाका लागि समेत उदाहरणीय बनेको बताउनुभयो। प्रारम्भिक चरणमा केही स्थानमा आचारसंहिता उल्लंघनका घटना देखिए पनि पछि सबै पक्षले नियमको पालना गरेकाले निर्वाचन व्यवस्थित रूपमा सम्पन्न गर्न सहज भएको उहाँले बताउनुभयो।

त्यसैगरी प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले निर्वाचन अधिकृतको कार्यालय स्थापना भएदेखि मत परिणाम सार्वजनिक हुने चरणसम्म सबै निकायबाट सकारात्मक सहयोग प्राप्त भएको उल्लेख गर्नुभयो। सीमित समयका बाबजुद पनि समन्वय र सहकार्यका कारण निर्वाचन भयरहित वातावरणमा सम्पन्न भएको उहाँको भनाइ थियो। साथै उहाँले भविष्यमा मतदान प्रक्रियालाई अझ सहज र प्रभावकारी बनाउन डिजिटल मतदान प्रणालीको प्रयोगतर्फ ध्यान दिनुपर्ने आवश्यकता औंल्याउनुभयो।

समिक्षा कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी, तीनवटै सुरक्षा निकायका प्रमुख, विभिन्न राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, गैरसरकारी संस्था महासंघ, उम्मेदवार तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो। सहभागीहरूले आगामी निर्वाचनलाई अझ पारदर्शी, व्यवस्थित र प्रविधिमैत्री बनाउन विभिन्न सुझावसमेत प्रस्तुत गरेका थिए।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan