Search
Close this search box.

मकवानपुरमा प्रहरीमाथि आक्रमण; आत्मरक्षामा गोली चल्दा एक घाइते, दुई पक्राउ

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा प्रहरीमाथि आक्रमण गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ भने एक जना गोली लागेर घाइते भएका छन्।

बुधबार राति करिब ८ः५० बजे लागुऔषध सेवन तथा झैझगडा भइरहेको भन्ने सूचनापछि पदमपोखरी प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रहरीका अनुसार घटनास्थलमा रहेका व्यक्तिहरूसँग सोधपुछ गर्ने क्रममा उनीहरूले अचानक बियरको बोतल, खुकुरी र बन्चरो प्रयोग गरी प्रहरीमाथि आक्रमण गरेका थिए। आक्रमणबाट प्रहरी सहायक निरीक्षक तामाङका दुवै हातमा चोट लागी मध्यम घाइते भएका छन्।

प्रहरीमाथि आक्रमण भएपछि आत्मरक्षाका लागि तामाङले आफ्नो साथमा रहेको पेस्तोलबाट एक राउण्ड गोली चलाएका थिए। सो क्रममा हेटौंडा उपमहानगरपालिका–१२ हात्तिगौडाका करिब १९ वर्षीय सनिस तितुङको पेटको दाहिने भागमा गोली लागेको प्रहरीले जनाएको छ।

घाइते प्रहरी तथा गोली लागेका तितुङलाई उपचारका लागि चुरेहिल अस्पतालमा भर्ना गरिएको छ।

घटनापछि जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीको कमाण्डमा खटिएको थप प्रहरी टोलीले घटनामा संलग्न हेटौंडा उपमहानगरपालिका–१२ रमनटारका २४ वर्षीय सन्जय जिम्बा र ३५ वर्षीय अजय थिङलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार पक्राउ परेका दुई जना तथा गोली लागेर घाइते तितुङ विगतमा लागुऔषध, ज्यान मार्ने उद्योग तथा चोरीसम्बन्धी विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan