Search
Close this search box.

२८ करोड लागतमा बनेको हेटौंडा अस्पतालको नयाँ भवन उद्घाटन, २ सय बेड थपिँदै सेवा विस्तार हुने

हेटौंडा । मकवानपुरको प्रमुख स्वास्थ्य संस्था हेटौंडा अस्पतालमा करिब २८ करोड ५४ लाख रुपैयाँ लागतमा निर्माण गरिएको आधुनिक भवन औपचारिक रूपमा उद्घाटन गरिएको छ। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बिहीबार आयोजित कार्यक्रममा भवन उद्घाटन गर्दै प्रदेश सरकारले स्वास्थ्य पूर्वाधार विस्तारलाई प्राथमिकतामा राखेको बताए।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित अस्पताल परिसरमा निर्माण गरिएको तीन ब्लकको नयाँ भवन सञ्चालनमा आएपछि अस्पतालको सेवा क्षमता उल्लेखनीय रूपमा विस्तार हुने बताइएको छ। नयाँ संरचनासँगै अस्पतालमा थप २ सय बेड व्यवस्था गरिनेछ, जसले गर्दा कुल बेड क्षमता ५ सय पुग्नेछ।

सहरी विकास तथा भवन कार्यालय हेटौंडाले निर्माण गरेको भवनमध्ये एक ब्लक अण्डरग्राउण्डसहित ६ तले र बाँकी दुई ब्लक पाँच–पाँच तले छन्। भवनमा लिफ्ट, फायर सेफ्टी प्रणाली, सीसीटीभी निगरानी, आधुनिक विद्युत तथा स्यानिटरी प्रणाली जडान गरिएको छ। साथै भूकम्प प्रतिरोधी प्रविधि प्रयोग गरी भवन निर्माण गरिएको छ।

प्रतिष्ठानका उपकुलपति डा. प्रदीप ज्ञवालीका अनुसार नयाँ भवन सञ्चालनमा आएपछि ओपीडी, आकस्मिक सेवा, भर्ना वार्ड, प्रयोगशाला, एक्स–रे, फार्मेसी र प्रशासनिक कक्षलाई व्यवस्थित रूपमा सञ्चालन गरिनेछ। उनले अस्पतालमा सघन उपचार सेवा, सुत्केरी वार्ड, शल्यक्रिया कक्ष तथा विशेषज्ञ सेवाहरू थप विस्तार गर्न सहज हुने बताए।

अस्पतालले निकट भविष्यमै डायलासिस सेवा विस्तार गर्ने तथा मिर्गौला प्रत्यारोपण सेवा सञ्चालन गर्ने तयारी पनि थालेको जनाएको छ। यसका साथै मुटुरोग उपचार, कार्डियाक केयर, महिला तथा प्रसूति सेवा, मानसिक स्वास्थ्य सेवा लगायतका विशेषज्ञ सेवाहरू पनि थप विस्तार गर्ने योजना रहेको छ।

हेटौंडा अस्पतालले हाल मकवानपुरसहित बारा, पर्सा र रौतहट लगायतका जिल्लाबाट आउने बिरामीलाई सेवा प्रदान गर्दै आएको छ। नयाँ भवन सञ्चालनसँगै क्षेत्रीय स्तरमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन थप सहज हुने अपेक्षा गरिएको छ।

उद्घाटन कार्यक्रममा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल, भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटा, स्वास्थ्य मन्त्री किरण थापा, प्रदेशसभा सदस्य एकालाल श्रेष्ठ तथा प्रतिष्ठानका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan