Search
Close this search box.

ब्याड्मिन्टन उपाधि बिरु र चेतनलाई

मकवानपुर । खेलकुद, कृषि तथा पर्यटन महोत्सव अन्तर्गत आयोजित जिल्लास्तरीय ब्याड्मिन्टन प्रतियोगिताको उपाधि बिरु गुरुङ र चेतन बिकको टोलीले जितेको छ। २७ टोलीलाई पछि पार्दै उनीहरूले प्रतियोगिताको उपाधि आफ्नो नाममा पारेका हुन्।

प्रतियोगितामा महेश बोहरा र राम थापा मगरको टोली उपविजेता बनेको छ। त्यस्तै अजय बजगाइ र डा. नितिन थापा तथा भक्तराज जोशी र सुमन अर्यालको टोलीले सान्त्वना स्थान हासिल गरेका छन्।

शुक्रबारबाट सुरु भएको प्रतियोगितामा २८ टोलीको सहभागिता रहेको थियो। प्रतियोगिताको विजेताले २० हजार रुपैयाँ, उपविजेताले १० हजार रुपैयाँ तथा सान्त्वना स्थान हासिल गर्ने टोलीहरूले समान ५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

खेलकुद क्षेत्रको विकास गर्ने उद्देश्यले हेटौंडाको टिसिएन चौरमा फागुन २९ गतेबाट सुरु भएको खेलकुद, कृषि तथा पर्यटन महोत्सवमा विभिन्न ६ विधामा खेलकुद प्रतियोगिता सञ्चालन भइरहेको छ।

हालसम्म जिल्लास्तरीय ब्याड्मिन्टन प्रतियोगिता तथा जिल्लास्तरीय महिला र पुरुष १० किलोमिटर दौड प्रतियोगिता सम्पन्न भइसकेका छन्। आज चैत्र १ गतेदेखि ३ गतेसम्म जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुनेछ।

यसैगरी चैत्र ४ देखि ८ गतेसम्म राष्ट्रिय महिला भलिबल प्रतियोगिता, चैत्र ९ र १० गते जिल्लास्तरीय कराँते प्रतियोगिता तथा चैत्र ११ देखि १३ गतेसम्म तेक्वान्दोको राष्ट्रिय प्रतियोगिता आयोजना गरिने मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजकुमार मोक्तानले जानकारी दिएका छन्।

राष्ट्रिय महिला भलिबल प्रतियोगिताको विजेताले ३ लाख रुपैयाँ, उपविजेताले २ लाख रुपैयाँ तथा सेमिफाइनल पुग्ने दुई टोलीले समान ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। सर्वोत्कृष्ट खेलाडीलाई १५ हजार रुपैयाँ र अन्य विधागत उत्कृष्ट खेलाडीलाई पनि पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष मोक्तानले बताए।

त्यस्तै जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिताको विजेताले १ लाख रुपैयाँ, उपविजेताले ५० हजार रुपैयाँ तथा सेमिफाइनल पुग्ने टोलीहरूले समान १५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। सर्वोत्कृष्ट खेलाडीलाई ७ हजार रुपैयाँ नगदसहित अन्य विधागत उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार प्रदान गरिने आयोजक खेलकुद विकास समितिका सदस्य मदन उप्रेतीले जानकारी दिएका छन्।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan