Search
Close this search box.

९६ प्रतिशत वन डढेलो मानवीय कारणबाट, सुख्खा मौसमअघि मकवानपुरमा सतर्कता र पूर्वतयारीमा जोड

हेटौंडा । हेटौंडामा विपद् व्यवस्थापन तथा वातावरण संरक्षण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। जिल्ला समन्वय समिति मकवानपुरको आयोजना तथा सामुदायिक वन उपभोक्ता महासंघ नेपालको समन्वयमा आइतबार कार्यक्रम आयोजना गरिएको हो।

हेटौंडा स्थित जिल्ला समन्वय समितिको कार्यालयमा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय प्रमुख ललित घलानको सभाध्यक्षता तथा प्रदेशसभा सदस्य कुमारी मोक्तानको प्रमुख आतिथ्यता रहेको थियो।

कार्यक्रममा जिल्ला समन्वय अधिकारी विष्णु पौडेलले विपद् व्यवस्थापन तथा विपद् जोखिम न्यूनीकरणसम्बन्धी प्रस्तुतीकरण दिँदै नेपालमा विपद्को अवस्था, कानुनी तथा नीतिगत व्यवस्था, संस्थागत संरचना तथा चुनौतीहरूबारे जानकारी गराउनुभयो।

त्यस्तै, मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले प्राकृतिक तथा मानवजन्य विपद्का स्वरूप, व्यवस्थापनका चरण र नीतिगत पक्षबारे प्रकाश पार्दै विपद् व्यवस्थापनमा समन्वय र तयारीको आवश्यकता औंल्याउनुभयो।

डिभिजन वन कार्यालय हेटौंडाका प्रमुख राकेश प्रसाद चन्द्रवंशीले अघिल्लो वर्षको तथ्यांक प्रस्तुत गर्दै मकवानपुरका विभिन्न स्थानीय तहमा ६६ स्थानमा ४८६ हेक्टर वन क्षेत्रमा डढेलो लागेको जानकारी दिनुभयो। उहाँका अनुसार ९६ प्रतिशत डढेलो मानवीय कारणबाट भएको पाइएको छ, जसमा ६४ प्रतिशत जानाजानी र ३२ प्रतिशत लापरबाहीका कारण भएको उल्लेख गर्नुभयो।

सबैभन्दा बढी असर मकवानपुरगढी क्षेत्रमा परेको छ भने स्थानगत रूपमा बागमती गाउँपालिकामा सबैभन्दा धेरै डढेलोका घटना भएका थिए। यस वर्ष हालसम्म डढेलोका घटना नभएको जनाउँदै सचेतना बढेमा यस्ता घटना न्यूनिकरण हुने उहाँले बताउनुभयो।

छलफलका क्रममा सहभागीहरूले वन डढेलो नियन्त्रणका लागि आवश्यक औजार अभाव रहेको गुनासो गरेका थिए। केही वडाबाट सीमित मात्रामा औजार उपलब्ध भए पनि पर्याप्त नभएको भन्दै ग्रामीण क्षेत्रमा यस्ता कार्यक्रम विस्तार गर्नुपर्नेमा जोड दिइएको थियो।

कार्यक्रममा प्रमुख अतिथी मोक्तानले वन आसपासका बासिन्दाको समस्या समाधानका लागि स्थानीय सरकारले प्रभावकारी भूमिका खेल्नुपर्ने बताउनुभयो। प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले वन संरक्षणसँगै विकासलाई सन्तुलनमा अघि बढाउनुपर्ने धारणा राख्दै आवश्यक परे लचिलो कानुनी व्यवस्था आवश्यक रहेको उल्लेख गर्नुभयो।

कार्यक्रममा डिभिजन बन कार्यालय मनहरीका डिभिजन वन अधिकृत हेम बहादुर थापा, सामुदायिक वन उपभोक्ता समिति महासंघ मकवानपुर अध्यक्ष साधुराम चौलागाई, हेटौंडा उपमहानगरपालिका विपद् व्यवयस्थापन तथा वातावरण महाशाखाका अधिकृत हिम प्रसाद पौडेल, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक श्याम बहादुर खत्रीलगायत सामुदायिक वन समूहका पदाधिकारीको सहभागिता थियो ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan