Search
Close this search box.

क्षयरोग दिवसका अवसरमा हेटौंडामा अन्तरक्रिया तथा प्रभातफेरी

हेटौंडा । ‘हो, हामी क्षयरोग अन्त्य गर्छौं : राष्ट्रिय अभियान, हाम्रो योगदान’ भन्ने मूल नारासहित विश्व क्षयरोग दिवस बागमती प्रदेशको राजधानी हेटौंडामा विभिन्न कार्यक्रमका साथ मनाइएको छ।

नेपाल क्षयरोग निवारण संस्था, जिल्ला शाखा मकवानपुरको आयोजनामा प्रभातफेरी कार्यक्रम सम्पन्न गरिएको हो। साथै, संस्थाले बागमती प्रदेशका सामाजिक विकास मन्त्री कञ्चनचन्द्र वादेको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम पनि आयोजना गरेको छ।

अन्तरक्रिया कार्यक्रममा मन्त्री वादेले क्षयरोगको उपचार सेवा तथा औषधि निःशुल्क उपलब्ध भएकाले समयमै रोगको पहिचान गरी उपचार सुरु गर्न सबैलाई आग्रह गरे। उनले धूम्रपान तथा मद्यपान नगर्न, पोषणयुक्त आहार सेवन गर्न, बालबालिकालाई तोकिएको समयमा बीसीजी खोप लगाउन तथा रोगको संक्रमण अरूमा फैलिन नदिन सबै नागरिक सचेत रहनुपर्नेमा जोड दिए।

उनले लगातार खोकी लाग्ने, खोकीमा रगत देखिने, अस्वाभाविक रूपमा तौल घट्ने, फोक्सोमा पीडा महसुस हुने, ज्वरो आउनेजस्ता लक्षण देखिएमा तुरुन्त स्वास्थ्य परीक्षण गराउन अनुरोध गरे।

श्वासप्रश्वासका माध्यमबाट सजिलै सर्ने क्षयरोग मधुमेह, एचआईभी, मृगौला प्रत्यारोपण गरेका तथा क्यान्सरजस्ता रोगका कारण प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरूमा छिटो फैलिन सक्ने बताइएको छ।

नेपाल क्षयरोग निवारण संस्था, जिल्ला शाखा मकवानपुरका अध्यक्ष सजनलाल प्रधानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका सल्लाहकार ज्योतीरत्न बज्राचार्य, विजेन्द्र अग्रवाल लगायतको आतिथ्यता रहेको थियो। उक्त जानकारी संस्थाका सचिव गंगाप्रसाद पौडेलले दिएका हुन्।

क्षयरोग दिवसको अवसरमा आयोजित प्रभातफेरी कार्यक्रममा हेटौंडा–४ स्थित आमसाई विद्यालयका विद्यार्थीहरूको समेत सहभागिता थियो।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan