हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकामा प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ। गाँजा ओसारपसारमा प्रयोग गरिएको गाडी समेत प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको टोलीले मंगलबार मनहरी–९ स्थित हरियाली सामुदायिक जंगलको भित्री सडक खण्डमा शंकास्पद अवस्थामा गुडिरहेको गाडी रोकेर जाँच गर्दा गाँजा बरामद गरेको हो। जाँचका क्रममा गाडीभित्र लुकाएर राखिएको २७ वटा प्याकेटमा लागूऔषध गाँजा फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका–४ का २० वर्षीय अक्कलप्रसाद स्याङतान रहेका छन्। बा १३ च २०१४ नम्बरको उक्त गाडी राक्सिराङ–१ भाबरबाट मनहरी हुँदै पूर्व–पश्चिम राजमार्गतर्फ जाँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार प्लास्टिकमा प्याक गरिएको १७१ केजी २१ ग्राम गाँजा, गाडी र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाइएको जानकारी दिइएको छ ।



