मकवानपुरमा सरफ लोड ट्रक दुर्घटना; एकको मृत्यु, चालक गम्भीर घाइते
हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका–११ घट्टेपाखास्थित कान्तिलोकपथ सडकखण्डमा बुधबार बिहान भएको ट्रक दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चालक गम्भीर घाइते भएका छन्।
बिहान २:५० बजे हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना ८ ख ८७६० नम्बरको सरफ लोड ट्रक अनियन्त्रित भई सडक नजिक रहेको घरमा ठोक्किएपछि करिब १५० मिटर तल खोल्सामा खसेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दुर्घटनामा परी ट्रकमा सवार पर्सा वीरगञ्ज महानगरपालिका–३२ बस्ने करिब २० वर्षीय सन्तोष यादवको उपचारका क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हो। उनलाई बिहान ६:३५ बजे अस्पताल पुर्याइएकोमा ६:५५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
त्यसैगरी, ट्रक चालक करिब ३३ वर्षीय कृष्ण यादव गम्भीर घाइते भएका छन्। उनको शरीरका विभिन्न भागमा चोट लागेको छ र थप उपचारका लागि भरतपुर, चितवन पठाइएको प्रहरीले जनाएको छ।
दुर्घटनालगत्तै इलाका प्रहरी कार्यालय ठिंगनबाट प्रहरी टोली खटिएको थियो भने नेपाली सेनाको लेनडाँडा सुरक्षा बेसबाट सुबेदार सिताराम कार्कीको कमाण्डमा खटिएको टोलीले उद्धार कार्य गरेको थियो।
ट्रक दुर्घटनाका कारण स्थानीय ओमान सिंह तितुङको घरमा क्षति पुगेको भए पनि मानवीय क्षति अन्य नभएको प्रहरीले जनाएको छ। सडक अवरुद्ध नभएको र ट्रक घटनास्थलमै रहेको छ।



