मकवानपुर । गजल मञ्च मकवानपुरले आफ्नो २२औँ स्थापना दिवस तथा २३५औँ गजल यात्राको अवसरमा ‘गजल यात्रा–५’ नामक मुखपत्र विमोचन तथा आजीवन सदस्यता परिचयपत्र वितरण कार्यक्रम सम्पन्न गरेको छ।
मञ्चका अध्यक्ष संजित श्रेष्ठको सभाध्यक्षता रहेको कार्यक्रममा प्रमुख अतिथिका रूपमा साहित्यकार डा. निमेष निखिल तथा विशिष्ट अतिथिका रूपमा वरिष्ठ गीतकार तथा गजलकार तुलसी घिमिरे सहभागी थिए।
कार्यक्रममा मञ्चका सल्लाहकार, पूर्व अध्यक्षहरू, विभिन्न साहित्यिक संघ–संस्थाका प्रतिनिधि, गजलकार तथा अन्य साहित्यिक व्यक्तित्वहरूको उपस्थिति थियो।
उक्त अवसरमा ‘गजल यात्रा–५’ नामक प्रकाशन सार्वजनिक गरिएको हो। पुस्तकमा गजलसम्बन्धी लेख, २०८२ सालमा मञ्चले गरेका गतिविधिहरूको विवरण तथा ४१ जना अग्रजदेखि नवसर्जकसम्मका सर्जकहरूका गजलहरू समावेश छन्। सम्पादन मण्डलाका तर्फबाट देवराज तिवारीले प्रकाशनबारे जानकारी दिएका थिए।
त्यसैगरी मञ्चले सञ्चालन गरेको आजीवन सदस्यता अभियानअन्तर्गत २४ जना नयाँ सदस्यलाई परिचयपत्र वितरण गरिएको छ भने संस्थाको स्थापनाकालदेखि नै सहयोग पुर्याउँदै आएका मुक्ति गोविन्द वैद्यलाई मानार्थ सदस्यता प्रदान गरिएको थियो।
कार्यक्रममा मनिका नेगी, राजकुमार चौधरी, स्वस्तिका दाहाल, मिथिला अधिकारी, सुवास सजल, देवराज लामिछाने, केशव सुवेदी समर्पण, अनिल कोइराला, हरि पौड्याल, प्रह्लाद चौलागाईं, देवराज तिवारी, केशव तौजल्य,तुलसी घिमिरेलगायतले गजल वाचन तथा गायन प्रस्तुत गरेका थिए।
कार्यक्रमको सहजीकरण सह–सचिव गौरी कँडेलले गरेकी थिइन् भने स्वागत मन्तव्य उपाध्यक्ष हरि पौड्यालले व्यक्त गरेका थिए।


