Search
Close this search box.

आफ्ना सन्तानलाई कार्यरत विद्यालयमै पढाउँछन् जनप्रियका शिक्षक

हेटौँडा– सरकारी विद्यालयमा अध्यापन गराउने शिक्षक तथा सरकारी कर्मचारीले आफ्ना छोराछोरीलाई भने महङ्गो निजी विद्यालयमा पढाउने गरेको भन्दै आलोचना हुने गरेको छ । तर, मकवानपुरको हेटौँडा १६ मा रहेको जनप्रिय माध्यमिक विद्यालयमा अध्यापनरत शिक्षकहरुले भने आफ्ना सन्तान आफू अध्यापनरत विदालयमै पढाउन थालेको वर्षौँ भइसक्यो ।

त्यहाँ अध्यापनरत झण्डै १ सयको हाराहारीमा रहेका शिक्षकले आफ्ना छोराछोरीलाई कार्यरत विद्यालयमै अध्यापन गराइरहेका छन् । प्रधानाध्यापक भुपेन्द्र चौलागाईले आफू त्यस विद्यालयमा सरुवा भएर आएपछि छोरी भविष्का र छोरा भविष्यलाई नीजि विद्यालयबाट झिकेर जनप्रियमा भर्ना गरे । त्यसपछि सरु भयो कार्यरत शिक्षकका ुछोराछोरीको पनि जनप्रिय माविमै भर्ना गराउने क्रमको श्रृंखला । त्यतिले मात्रै यो क्रमको अन्त्य भएन बरु सरकारी विद्यालयमा अन्यत्र कार्यरत रहेका शिक्षकहरु समेतले जनप्रिय माविमा आफ्ना नानीबाबुलाई भर्ना गराउन सरु गरे । अहिले यो विद्यालयमा २ हजार भन्दा ज्यादा विद्यार्थीहरु अध्यापन गरिरहेको प्रधानाध्यापक चौलागाईले बताए । ु

त्यसो त यो विद्यालयमा देशका करिव ३४ जिल्लाबाट आएका विद्यार्थीहरुले अध्ययन गरेको तथ्याङ्क छ । उत्कृष्ट प्राविधिक धारको शिक्षाले यहाँ अध्ययन गरेर फर्किएकाहरु कोहिपनि बेरोजगार बस्नुनपरेको खुशी साट्छन् सीटिइभिटी कार्यक्रम संयोजक अनिल सापकोटा ।

जनप्रिय मावि अध्ययन गरेर देशकै उच्च शैक्षिक प्रशासनका क्षेत्रमा काम गरेका रामशरण सापकोटाको पनि विद्यालयप्रति उत्तिकै सद्भाव छ । उनले भने ‘यो विद्यालय मध्य नेपालकै उत्कृष्ट शैक्षिक गन्तव्यमध्ये एक हो ।’ त्यसो त जनप्रियको प्राविधिक धार अध्ययन गरेर सफल व्यवसायी बनेका फेन्चु लामाको अहिले आफ्नै कृषि फारम छ । ४ करोड लगानीमा यो नमुना कृषि फारम खोल्ने साहस जनप्रिय माविकै प्राविधिक शिक्षाले दिलाएको उनको पनि तर्क छ ।

जनप्रिय माविले पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन गरेयता कार्यक्रममा जोडिएका विद्यार्थीले आफ्नो खर्चका लागि अभिभावक गुहार्नु नपर्दो रहेछ । पढाइ खर्चको अलावा आफ्नो पकेट खर्च पनि पुगेको बताउँछिन् जनप्रियबाट प्राविधिक धारतर्फ एस ईई दिएर बसेकी छात्रा सारा गिरी ।
कतिपय विद्यालयहरु विद्यार्थी अभावमा अर्को विद्यालयसंग एकिकृत भइरहेको अवस्थामा जनप्रियमा भने नयाँ विद्यार्थी भर्ना गर्न आउनेको घुँइचो छ । परीक्षा र लेखा शाखाका कर्मचारी प्रदिप दाहालले आए जति सबैलाई भर्ना गर्न गाह्रो भएको बताउँछन् ।

विद्यालयले प्राविधिक धारमा मात्रै होईन अभिभावकको अंग्रेजी शिक्षाप्रतिको मोहलाई पनि उत्तिकै रुपमा संवोधन गरेको छ । अंग्रेजी माध्यममा नै कक्षा १० सम्म र ६ देखि १० सम्म नेपाली माध्यम पनि दुबै धारमा सञ्चालन रहेको संयोजक रविन श्रेष्ठले बताए । साधारण धारतर्फको शिक्षामा विज्ञान, वाणिज्य, शिक्षा, मानविकी संकायमा कक्षा १२ सम्म सञ्चालनमा रहेका छन् । जनप्रियमा सेवाक्षेत्रका समुदायको किन यति विश्वास बढ्यो त भन्ने प्रश्नमा विव्यस सदस्य गोविन्दप्रसाद दुलाल भन्छन् ‘जनप्रियका शिक्षकले आफ्ना सन्तती आफू कार्यरत विद्यालयमै पढाउँछन् । समुदायले विश्वास नगर्नुपर्ने कुरै छैन ।’ कक्षा ६ मा अध्ययनरत विभान थापामगरका अभिभावक भावना थापामगर बसाइ सरेर चितवन जानुअघि दुखेसो पोख्दै भन्छिन् ‘अब यस्तै विद्यालय पाइन्छ वा पाइन्न, जहाँ कार्यरत शिक्षककै छोराछोरी पनि त्यहीँ पढिरहेका होउन् ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan