Search
Close this search box.

मनहरीमा सामुदायिक विद्यालयका शिक्षकलाई विषयगत कार्यशाला

मनहरी– मकवानपुरको मनहरी गाउँपालिकामा सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले दुईदिने विषयगत कार्यशालाको आयोजना गरिएको छ । वैशाख १० र ११ गते भएको कार्यशालामा मनहरी गाउँपालिका अन्तर्गत रहेका ३२ वटा सामुदायिक विद्यालयका करिब ३०० जना शिक्षक शिक्षिकाको सहभागिता रहेको थियो ।

बदलिँदो समयसँगै शिक्षण सिकाइका विधि र प्रविधिमा आएको परिवर्तनलाई आत्मसात गराउने, शिक्षकहरुलाई समसामयिक विषयमा अद्यावधिक गराउने तथा अनुभव आदानप्रदानको अवसर सिर्जना गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख प्रदिप पराजुलीले जानकारी दिए ।

बालजीवन ज्योति मावि मनहरी–१, महेन्द्रज्योति मावि मनहरी–३, पशुपतिनाथ मावि मनहरी–४, नवज्योति प्रावि मनहरी–३, महेन्द्रकिरण मावि मनहरी–८, राष्ट्रिय रोटरी मावि मनहरी–७ र राष्ट्रिय मावि सुनाचुरी, मनहरी–६ मा तालिम सञ्चालन गरिएको थियो । तालिमअन्तर्गत सामाजिक÷स्वास्थ्य, विज्ञान, गणित, अंग्रेजी, नेपाली तथा बाल विकास र शिक्षा विषयमा छुट्टाछुट्टै सत्र सञ्चालन गरिएको थियो । साथै विषयगत सामग्री निर्माण, मूल्याङ्कन प्रक्रिया, विशिष्टीकरण तालिका, ग्रिड निर्माण, विषयगत समिति गठन तथा सिकाइ चौतारी सम्बन्धी विषयमा अन्तरक्रियात्मक छलफल गरिएको थियो ।

कार्यशालामा विभिन्न तहमा भोगेन्द्र लुइटेल, सरस्वती अधिकारी, मनोज लामा, भुपेन्द्र चौलागाई, दीपक अधिकारी, माधव गौतम, रामकुमार ठाकुर, इन्द्र पाण्डे र ज्योति कार्कीले प्रशिक्षण दिएका थिए । कार्यशालाको समन्वय तथा व्यवस्थापन सम्बन्धित विद्यालयहरुले गरेका थिए भने सहभागी शिक्षकहरुको हाजिरी पनि सोही विद्यालयमा व्यवस्थापन गरिएको थियो ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan