Search
Close this search box.

हेटौँडा–४ नम्बर वडाको नयाँ पहल,बिदामा विद्यार्थीलाई सीपमूलक तालिम


हेटौँडा । हेटौँडा उपमहानगरपालिका–४ ले आफ्नो वडाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीलाई लक्षित गर्दै सीपमूलक तालिम सञ्चालन गर्ने भएको छ।

वडाका विभिन्न विद्यालयका कक्षा ९ मा अध्ययनरत ७५ जना विद्यार्थीलाई व्यवसायिक सीप प्रदान गर्ने उद्देश्यले कपाल काट्ने, ब्युटी पार्लर तथा इलेक्ट्रिकल सम्बन्धी तालिम सुरु गरिएको हो। उक्त तालिमको संयुक्त रूपमा बिहीबार उद्घाटन गरिएको छ।

उद्घाटन कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष नवीन सिग्देलले विद्यालय तहदेखि नै विद्यार्थीलाई व्यवहारिक र व्यवसायिक सीप दिन आवश्यक रहेको बताए। उनले सामुदायिक र संस्थागत दुवै विद्यालयका विद्यार्थीलाई सहभागी गराएर तालिम सञ्चालन गरिएको जानकारी दिँदै शनिबार र आइतबारको दुई दिनको बिदामा जेठ र असार महिनाभर तालिम सञ्चालन गरिने बताए।

कार्यक्रममा भुटनदेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक सूर्यप्रसाद घिमिरेले वडा कार्यालयले सञ्चालन गरेको सीपमूलक तालिम महत्वपूर्ण र उदाहरणीय कार्य भएको बताए । उनले तालिमलाई उपयोगी बनाउँदै सिकेको सीपको सदुपयोग गर्न विद्यार्थीलाई आग्रह गरे ।

कार्यक्रमका सभाध्यक्ष तथा शैक्षिक गुणस्तर सुधार समितिका अध्यक्ष एवं श्रमिक माध्यमिक विद्यालय का प्रधानाध्यापक श्रीराम दाहालले वडा कार्यालयको आयोजनामा सञ्चालन गरिएको यस्तो कार्यक्रम देशमै नयाँ अभ्यास हुन सक्ने उल्लेख गरे । उनले तालिमप्रति विद्यार्थीहरूको उत्साहजनक चासो रहेको पनि बताए।

कार्यक्रममा वडा कार्यालयका सचिव रामप्रसाद गुरागाईं, भुटनदेवी माध्यमिक विद्यालय का सहायक प्रधानाध्यापक भरत पोखरेल, वेदराज कोइराला तथा प्रशिक्षकहरूको आतिथ्यता थियो।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan